images
images

एनपीएल–३ : कप्तानीसँगै व्यक्तिगत प्रदर्शनमा को अगाडि ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उपाधि प्रतिस्पर्धाको अन्तिम चरणमा पुगेको छ। प्रतियोगिताको विजेता टोलीको टुङ्गो लाग्न अब तीन खेल बाँकी रहँदा सहभागी टोलीका कप्तानहरूको व्यक्तिगत प्रदर्शन पनि चर्चामा छ।

कप्तानहरूको प्रदर्शन तुलना गर्दा सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी सबैभन्दा प्रभावशाली देखिएका छन्। उनले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा योगदान दिँदै टोलीलाई प्लेअफसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।

दीपेन्द्रले आठ खेलमा तीन अर्धशतकसहित २०२ रन बनाएका छन्। उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन्। बलिङतर्फ उनले पाँच विकेट लिएका छन्। पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै कार पुरस्कार जितेका दीपेन्द्र यसपटक पनि उक्त पुरस्कारका बलिया दाबेदार देखिएका छन्।

लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलको प्रदर्शन पनि सन्तोषजनक छ। उनको नेतृत्वमा लुम्बिनी फाइनलमा पुगिसकेको छ। रोहितले सात खेलमा १२१ रन बनाउनुका साथै चार विकेट लिएका छन्। उनले गत संस्करणमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै कार पुरस्कार जितेका थिए।

काठमाडौं गोर्खाजका कप्तान करण केसीले पनि ब्याटिङ र बलिङ दुवैमा योगदान दिएका छन्। उनको नेतृत्वमा काठमाडौंले प्लेअफमा स्थान बनाएको छ। करणले सात खेलमा आठ विकेट लिनुका साथै ८९ रन बनाएका छन्।

चितवन राइनोजका कप्तान जिम्बाब्वेका अलराउन्डर सिकन्दर रजाको व्यक्तिगत प्रदर्शन भने अपेक्षाअनुसार हुन सकेको छैन। उनको नेतृत्वमा चितवन प्लेअफमा पुगे पनि रजाले पाँच खेलमा ५६ रनमात्र बनाएका छन्। बलिङतर्फ उनले पाँच विकेट लिएका छन्।

कर्णाली याक्सले यस संस्करणमा सुरुआती खेलमा सोमपाल कामी र लिग चरणको अन्त्यतिर डेभिड मिलरलाई कप्तानको जिम्मेवारी दिएको थियो। सोमपालले सात खेलमा एक अर्धशतकसहित १२५ रन बनाएका छन्। बलिङमा उनले ८.९० को इकोनोमी रेटमा १० विकेट लिएका छन्।

त्यस्तै, कर्णालीका लागि चार खेल खेलेका मिलरले एक अर्धशतकको मद्दतमा ११० रन बनाएका छन्। यस क्रममा उनको उच्च स्कोर अविजित ९३ रन हो। मिलरले यस संस्करणबाट पहिलोपटक एनपीएल खेलेका हुन्।

विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेको नेतृत्वमा टोलीको प्रदर्शन उतारचढावपूर्ण रह्यो। विराटनगर प्लेअफमा पुग्न सकेन। सन्दीपले सात खेलमा सात विकेट लिए पनि पाँच खेलमा विकेटविहीन रहे। ब्याटिङमा पनि उनको प्रदर्शन उल्लेखनीय हुन सकेन।

पोखरा एभेन्जर्सले सुरुआती खेलमा कुशल भुर्तेललाई कप्तान बनाएको थियो। टोलीको लगातार कमजोर प्रदर्शनपछि लिग चरणको अन्त्यतिर श्रीलङ्काका अलराउन्डर चमिका करुणारत्नेलाई कप्तानीको जिम्मेवारी दिइयो। कुशलले सात खेलमा दुई अर्धशतकसहित २३५ रन बनाउनुका साथै छ विकेट लिएका छन्। करुणारत्नले भने छ खेलमा ८५ रन बनाएका छन् भने चार विकेट लिएका छन्।

जनकपुर बोल्ट्सले यस संस्करणमा अमेरिकाका अलराउन्डर हरमित सिंहलाई कप्तान बनाएको थियो। उनको नेतृत्वमा जनकपुर अङ्कतालिकाको पुछारमा रह्यो। यद्यपि, व्यक्तिगत प्रदर्शनमा हरमितले बलिङतर्फ राम्रो प्रभाव पारे। उनले सात खेलमा ११ विकेट लिनुका साथै ९० रन बनाएका छन्।

यसैबीच, एनपीएलअन्तर्गत आज हुने एलिमिनेटर खेलमा काठमाडौं गोर्खाज र चितवन राइनोज आमनेसामने हुँदै छन्। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न ५ बजे सुरु हुने खेलमा जित निकाल्ने टोलीले क्वालिफायर–२ मा स्थान बनाउनेछ।

क्वालिफायर–२ मा एलिमिनेटरको विजेताले क्वालिफायर–१ मा पराजित सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। सुदूरपश्चिम मंगलबार भएको क्वालिफायर–१ मा लुम्बिनी लायन्ससँग चार विकेटले पराजित भएको थियो। आजको खेलमा हार्ने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ।

लिग चरणमा काठमाडौंले सातमध्ये चार खेल जितेको थियो भने तीन खेलमा पराजित भएको थियो। चितवनले सातमध्ये तीन खेल जितेको थियो, तीनमा हार बेहोरेको थियो भने एक खेल वर्षाका कारण बराबरी अङ्कमा टुङ्गिएको थियो।

लिग चरणमा यी दुई टोलीबीच भएको पहिलो भेटमा काठमाडौंले चितवनलाई १० रनले पराजित गरेको थियो। पहिलो खेलको हारको बदला लिँदै क्वालिफायर–२ मा पुग्ने लक्ष्यसहित चितवन मैदान उत्रनेछ। करण केसीको कप्तानीमा रहेको काठमाडौं भने अघिल्लो जितलाई निरन्तरता दिने योजनामा हुनेछ।

प्रतिक्रिया दिनुहोस्