काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीतिगत सुधार र सुशासनका कारण राजस्व सङ्कलनमा उत्साहजनक वृद्धि भएको दाबी गरेका छन्।
आन्तरिक राजस्व विभागले सोमबार आयोजना गरेको ‘राष्ट्रिय कर दिवस २०८३’ कार्यक्रममा बोल्दै उनले चालु आर्थिक वर्षको चार महिनामा भन्सार राजस्व सङ्कलन उत्साहजनक रहेको बताए। सरकारले असोज महिनामा कर राजस्वको लक्ष्य पूरा गरेको उल्लेख गर्दै उनले सुधारका प्रयासले नतिजा दिन थालेको बताएका हुन्।
‘असोजमा पूरै ट्याक्स रेभिन्युको टार्गेट मिट गरेका छौँ। त्यसैले केही न केही काम भइरहेको छ। रिफर्मले नतिजा दिन थालेका छन्,’ उनले भने, ‘बम्पर उपहार योजना एउटा सानो अंश र उत्प्रेरणा हो। यसले पनि नतिजा दिएको छ। प्रणालीगत सुधारले पनि अर्थतन्त्रलाई मूल प्रवाहमा ल्याउँदै स्वेच्छिक कर अनुपालन बढाउन सहयोग गर्नेछ।’
सरकारले प्रतिकूल परिस्थितिका बाबजुद लक्ष्यभन्दा बढी भन्सार राजस्व सङ्कलन गर्न सक्नु सुशासनको लाभांश भएको वाग्लेको भनाइ छ। अर्थतन्त्र सुधारका लागि सरकारले चालेका कदम र सुशासनका कारण राजस्वका लक्ष्य पूरा गर्न सम्भव भएको उनले बताए।
वाग्लेले कर प्रशासनको डिजिटल रूपान्तरण र स्वचालनलाई सुशासनको अभिन्न अंगका रूपमा अघि बढाइएको जानकारी दिए। आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीलाई सरल, सहज, सुरक्षित तथा व्यवसायी र करदातामैत्री बनाउन प्राविधिक सुधार भइरहेको उनले बताए।
कारोबार, लेखा प्रतिवेदन तयारी, आय विवरण पेस र कर दाखिलासम्मका प्रक्रियालाई प्रविधिमार्फत सहज र स्वचालित बनाउँदै कर प्रशासनको कार्यक्षमता बढाउने सरकारको योजना रहेको उनको भनाइ छ।
उद्यम तथा व्यवसायको प्रवर्द्धन, लगानी विस्तार र अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले कर नीतिमा सुधार गर्नुका साथै करका दर र दायराको पुनरावलोकन गरिरहेको पनि उनले बताए। भन्सार महसुल र अन्तःशुल्कलगायतका क्षेत्रमा सुधार सुरु गरिएको वाग्लेले उल्लेख गरे।
कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रले नयाँ स्वरूपको करदाता पोर्टल शुभारम्भ गरेका थिए। सोही अवसरमा आन्तरिक राजस्व विभागको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन र स्मारिका पनि विमोचन गरिएको थियो।
विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागले नीतिगत सुधारका कामलाई उच्च प्राथमिकतामा राख्दै आएको जानकारी दिए।













प्रतिक्रिया दिनुहोस्