images
images

निर्वाचन तयारीबारे दलहरूसँग छलफल गर्दै आयोग, मङ्सिर ४ गते सर्वदलीय बैठक

काठमाडौँ । निर्वाचन आयोगले आगामी निर्वाचनको तयारी र व्यवस्थापकीय पक्षबारे छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई बोलाएको छ। आयोगले आगामी मङ्सिर ४ गते छलफलका लागि उपस्थित हुन दलहरूलाई औपचारिक पत्र पठाएको हो।

आयोगका आयुक्त गुरुप्रसाद वाग्लेले निर्वाचनसम्बन्धी विषयमा परामर्श गर्न दलहरूलाई पत्राचार गरिएको पुष्टि गरेका छन्।

सरकारले आगामी फागुनमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने गरी तयारी अघि बढाइरहेका बेला आयोगले राजनीतिक दलहरूसँग छलफल प्रक्रिया सुरु गरेको हो। निर्वाचनका लागि आवश्यक संवैधानिक तथा कानुनी व्यवस्थापन, मतदाता नामावली अद्यावधिक र अन्य व्यवस्थापकीय तयारीका विषयमा राजनीतिक सहमति जुटाउन आयोगले दलहरूसँग परामर्श गर्न लागेको हो।

पछिल्लो समय स्थानीय तह र प्रदेश तहको निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै मितिमा गर्ने भन्ने विषयमा राजनीतिक वृत्तमा बहस भइरहेको छ। दुवै तहको निर्वाचन एकै चरणमा गर्दा राज्यको आर्थिक भार कम हुनुका साथै सुरक्षा व्यवस्थापन सहज हुने तर्क गरिएको छ। यद्यपि, संवैधानिक कार्यकाल र प्राविधिक जटिलताका विषयमा भने प्रश्न उठिरहेका छन्।

यसैबीच, छठ पर्वका अवसरमा आइतबार सर्लाही पुगेका नेपाली कांग्रेसका सभापति गगन थापाले पनि निर्वाचन आयोगले मङ्सिर ४ गते स्थानीय तह र प्रदेश तहको निर्वाचनबारे छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको जानकारी दिएका थिए।

आयोगले मङ्सिर ४ गतेको छलफलमा निर्वाचनको सम्भावित मिति, एकै चरण वा बहुचरणमा निर्वाचन गर्ने मोडालिटी, निर्वाचन आचारसंहिता, सुरक्षा व्यवस्थापन तथा आवश्यक कानुनी सुधारका विषयमा दलहरूको धारणा लिने तयारी गरेको छ।

राजनीतिक दलहरूसँगको परामर्शबाट प्राप्त सुझाव, संवैधानिक व्यवस्था र प्राविधिक क्षमताको मूल्याङ्कनपछि आयोगले सरकारलाई आवश्यक सिफारिस गर्ने जनाएको छ। आयोगको पत्राचारसँगै आगामी निर्वाचनको तयारीले राजनीतिक रूपमा औपचारिक गति लिन थालेको छ।

प्रतिक्रिया दिनुहोस्