images
images

हिम पर्वत हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज (मंसिर १ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले गत कात्तिक ११ गतेदेखि दोलखा जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको थियो । इच्छुक स्थानीय बासिन्दाले आज बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन् ।

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ । यसमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १६ करोड ९० लाख रुपैयाँ बराबरको १६ लाख ९० हजार कित्ता सेयर बिक्री खुला गरिएको हो । सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।

निष्कासन गरिएको सेयरमध्ये १० लाख १४ हजार कित्ता आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ । उक्त सेयर बिगु गाउँपालिका वडा नम्बर ५, ६, ७ र ८ तथा कालिञ्चोक गाउँपालिका वडा नम्बर २, ३ र ४ का स्थायी बासिन्दाले आवेदन दिन पाउनेछन् ।

बाँकी ६ लाख ७६ हजार कित्ता सेयर ती दुवै गाउँपालिकाका अन्य वडामा स्थायी बसोबास गर्ने स्थानीयका लागि छुट्याइएको छ ।

यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।

हिम पर्वत हाइड्रोपावरले २० मेगावाट क्षमताको साँगु खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजनाको कुल लागत ३ अर्ब ६५ करोड १७ लाख ८७ हजार २५४ रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत १८ करोड २५ लाख ८९ हजार ३६३ रुपैयाँ रहेको आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्रको अवधि २८ वर्ष बाँकी छ ।

आयोजनाको साधारण लगानी फिर्ता अवधि ६.०९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ९.०८ वर्ष रहेको छ । कम्पनीले यस आयोजनाबाट २०८२ असोज २५ गतेदेखि विद्युत् उत्पादन गर्दै आएको छ ।

त्यस्तै, कम्पनीले ५.५ मेगावाट क्षमताको साँगु खोला–१ जलविद्युत् आयोजना पनि सञ्चालन गरिरहेको छ । यस आयोजनाको कुल लागत १ अर्ब १५ करोड ४ लाख ५३ हजार ८९ रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत २० करोड ९१ लाख ७३ हजार २८९ रुपैयाँ रहेको आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्रको अवधि पनि २८ वर्ष बाँकी छ ।

यस आयोजनाको साधारण लगानी फिर्ता अवधि ६.२९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ९.५६ वर्ष रहेको छ । कम्पनीले २०८२ साउन ८ गतेदेखि यस आयोजनाबाट विद्युत् उत्पादन सुरु गरेको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नेपाल इन्भेस्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखा, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर तथा सिटिजन्स बैंकको चरिकोट शाखाबाट आवेदन दिन सक्नेछन् ।

आईपीओ आवेदन फाराम प्राप्त गर्न स्थानीय बासिन्दाले दुई रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्