काठमाडौँ । आगामी दुई हप्तासम्म देशका अधिकांश स्थानमा मौसम सफा रहने भएको छ। पश्चिमी न्यूनचापीय प्रणाली निष्क्रिय भएसँगै वर्षा र हिमपातको सम्भावना कम रहेको मौसमविद्हरूले बताएका छन्।
मौसमविद् एवं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक विनोद पराजुलीका अनुसार अबको झण्डै दुई हप्तासम्म नेपालमा वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली आउने सङ्केत देखिएको छैन। बङ्गालको खाडीमा विकसित हुने मौसमी प्रणालीबाट समेत नेपालमा वर्षा हुने सम्भावना नरहेको उहाँले बताउनुभयो।
त्यस्तै, जलवायुविज्ञ उज्ज्वल उपाध्यायले पनि कम्तीमा एक हप्तासम्म देशका अधिकांश स्थानमा घाम लाग्ने बताउनुभएको छ। उहाँका अनुसार उच्च भूभागका केही स्थानमा छिटपुट वर्षा हुन सक्ने भए पनि देशभर बदली र वर्षाको सम्भावना न्यून छ।
तराई, उपत्यका तथा खोँचहरूमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्न सक्ने भए पनि घाम लागेसँगै क्रमशः हट्ने अनुमान गरिएको छ।
मौसम सफा रहने भएपछि किसानलाई धान काट्न, सुकाउन र भित्र्याउन सहज हुने भएको छ। त्यस्तै, हिमाली तथा उच्च पहाडी क्षेत्रमा पदयात्रामा जानेहरूका लागि पनि आगामी एकदेखि दुई हप्ताको समय अनुकूल हुने देखिएको छ।
मौसम खुल्ने र चिसो पनि तत्काल उल्लेख्य रूपमा नबढ्ने अनुमानले कृषि कार्य तथा पर्यटन गतिविधिका लागि आगामी केही दिन अनुकूल रहने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्