काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेडलाई वित्तीय अनुशासन कायम राख्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ ।
नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सव समारोहको सोमबार काठमाडौंमा उद्घाटन गर्दै अर्थमन्त्री वाग्लेले अनुत्पादक क्षेत्रमा लगानी नगर्न र उत्पादनमूलक क्षेत्रमा पुँजी परिचालन गर्न बैंकलाई आग्रह गर्नुभयो ।
उहाँले बैंकिङ क्षेत्रमा गौरवमय इतिहास बोकेको नेपाल बैंकले संस्थागत सुशासनको उच्च मापदण्ड कायम गर्दै डिजिटल रूपान्तरणमार्फत आम नागरिकलाई सरल र सहज बैंकिङ सेवा उपलब्ध गराउनुपर्ने बताउनुभयो ।
सरकारले वित्तीय क्षेत्र सुधारका लागि अघि सारेका तीनबुँदे कार्यसूची पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उहाँले बैंकको कामकारबाही पारदर्शी बनाउन, संस्थागत कमजोरी सुधार गर्न तथा ग्राहकको तथ्याङ्क सुरक्षामा विशेष ध्यान दिन सुझाव दिनुभयो ।
अर्थमन्त्री वाग्लेले आगामी दिनमा डिजिटल बैंकिङ विस्तार, लघु, साना तथा मझौला उद्यमलाई सहज वित्तीय पहुँच, हरित अर्थतन्त्रको प्रवर्द्धन र वित्तीय साक्षरता अभिवृद्धिमा नेपाल बैंकले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिलकराज पाण्डेयले नेपालमा आधुनिक बैंकिङ इतिहासको सुरुआत गरेको बैंकले बचत संस्कृतिको विकास, आर्थिक स्रोत परिचालन, पुँजी निर्माण तथा औद्योगिक र व्यापारिक क्षेत्रको विस्तारमा उल्लेखनीय योगदान पुर्याएको बताउनुभयो ।
सीईओ पाण्डेयका अनुसार बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ, कुल निक्षेप ४ खर्ब १६ अर्ब रुपैयाँ र कर्जा लगानी २ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ ।
हाल ४.१८ प्रतिशत निष्क्रिय कर्जा अनुपात रहेको बैंकले ७१ जिल्लामा शाखा सञ्जाल विस्तार गरेको छ । बैंकका २५० एटीएम र ३ हजार ६०० कर्मचारीमार्फत २९ लाख २४ हजार ग्राहक तथा १० लाख मोबाइल बैंकिङ प्रयोगकर्तालाई सेवा प्रदान गर्दै आएको छ ।












प्रतिक्रिया दिनुहोस्