काठमाण्डौ । दुग्ध विकास संस्थान (डीडीसी) मा भएको भनिएको आर्थिक अनियमितता तथा संगठित अपराधको अनुसन्धानका क्रममा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीन किशोर शर्मा पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शर्मालाई बिहीबार ललितपुरको भैंसेपाटीबाट पक्राउ गरेको हो। सर्लाहीको रामनगर गाउँपालिका–३ स्थायी घर भएका ४५ वर्षीय शर्मा हाल ललितपुर महानगरपालिका–२५, भैंसेपाटीमा बस्दै आएका थिए।
सीआईबीका अनुसार सरकारी स्वामित्वको दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित उच्च तहका कर्मचारीको संलग्नतामा गैरकानुनी आर्थिक लाभ लिई संस्थानलाई ठूलो आर्थिक क्षति पुर्याइएको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो।
प्रारम्भिक अनुसन्धानबाट तत्कालीन महाप्रबन्धक, उच्च प्रशासनिक अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीहरूले पूर्वयोजनाअनुसार मिलेमतो गरी विभिन्न समूह र संगठित सञ्जालमार्फत संस्थानलाई आर्थिक नोक्सानी पुर्याएको देखिएको सीआईबीले जनाएको छ।
सीआईबीका अनुसार उक्त प्रकरणमा संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको आर्थिक क्षति पुर्याइएको र सोही रकम गैरकानुनी रूपमा लाभ लिएको प्रारम्भिक रूपमा पुष्टि भएको छ।
शर्माविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत आपराधिक विश्वासघात तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ।
काठमाण्डौ जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिएर उनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता अनुपमशमशेर जबराले जानकारी दिएका छन्। पक्राउ परेका शर्मामाथि थप अनुसन्धान भइरहेको छ।









प्रतिक्रिया दिनुहोस्