images
images

कार्यकर्तालाई ओलीको निर्देशन– कुनै पनि बेला आन्दोलनमा उत्रिनुपर्ने हुन सक्छ, तयार रहनू

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध कुनै पनि बेला आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई मानसिक र सांगठनिक रूपमा तयार रहन निर्देशन दिएका छन्।

आइतबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीको प्रमुख कार्यभारमध्ये आवश्यकता अनुसार आन्दोलन गर्ने तयारी पनि रहेको बताए। उनले परिस्थितिलाई ध्यानमा राखेर कार्यकर्तालाई सधैँ तयारी अवस्थामा रहन आग्रह गरे।

‘हाम्रो पार्टीको केन्द्रीय कमिटीले हाम्रो अगाडि दुईवटा महत्त्वपूर्ण कार्यभार रहेको छ भनेर भनेको छ। एउटा, हामीले आवश्यकताअनुसार आन्दोलन गर्नुपर्ने हुन्छ। आन्दोलनको तयारीको मानसिकतासहित साथीहरू सधैँ हरदम तयार हुनुहोला,’ ओलीले भने।

आन्दोलनका लागि सधैँ लामो तयारी आवश्यक नपर्ने उल्लेख गर्दै उनले परिस्थिति असह्य भएपछि तत्काल आन्दोलन सुरु हुन सक्ने बताए। सन् १९१७ को रुसी विद्रोहको उदाहरण दिँदै उनले निर्वाचन, जनविद्रोह र उपद्रवका माध्यमबाट पनि राजनीतिक परिवर्तन हुने गरेको बताए।

‘आन्दोलन सधैँ लामो तयारी गरेर मात्र हुन्छ भन्न सकिँदैन। असह्य भएपछि आन्दोलन तत्काल निस्किन्छ,’ उनले भने, ‘कहीँ विद्रोहबाट, कहीँ निर्वाचनबाट, कहीँ जनविद्रोहबाट भने कहीँ उपद्रवबाट उलटफेर हुँदो रहेछ भन्ने हामीले हेरेका छौँ।’

उनले कुनै पनि बेला आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै कार्यकर्तालाई त्यसको तयारीमा जुट्न निर्देशन दिए।

एमालेले विगतदेखि नै विभिन्न राजनीतिक चुनौती र दमनको सामना गर्दै आएको दाबी गर्दै ओलीले पञ्चायतकाल र राजा महेन्द्रको शासनकालमा समेत पार्टीलाई समाप्त पार्ने प्रयास भएको जिकिर गरे।

‘हामीमाथि के गरिएन ? आज मात्र होइन, हामीलाई उहिलेदेखि नै सिध्याउन खोजिएको हो। पञ्चायतकालमा, राजा महेन्द्रको शासनकालमा हामीलाई सिध्याउन खोजियो,’ उनले भने, ‘त्यही कारण हामीले झापामा पार्टीलाई पुनर्गठन गरेर आज यहाँसम्म ल्याइपुर्‍याएका छौँ।’

अहिले पनि एमाले देशको सबैभन्दा मजबुत, देशभक्त र लोकतान्त्रिक शक्ति भएको उनको दाबी थियो। कठिन परिस्थितिसँग जुध्दै अघि बढ्ने पार्टीको स्वभाव रहेको उल्लेख गर्दै उनले कार्यकर्तालाई निराश नहुन आग्रह गरे।

नागरिकमा बेचैनी र निराशा बढ्दै गएको भन्दै ओलीले यस्तो अवस्थामा एमाले वैचारिक रूपमा स्पष्ट भएर जनपक्षीय आन्दोलनको बाटोमा अघि बढ्नुपर्ने बताए।

केही दलले निर्वाचनमार्फत पार्टी निर्माण गर्ने तयारी गरिरहेको उल्लेख गर्दै उनले एमाले भने पार्टी निर्माणमा मात्र सीमित नभई स्थापित पार्टीको शक्तिसहित निर्वाचनमा होमिनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्