काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको कुल ब्याज आम्दानी घटेको छ। सञ्चालनमा रहेका २० वाणिज्य बैंकले असोज मसान्तसम्म १ खर्ब १३ अर्ब २४ करोड ८१ लाख ९९ हजार रुपैयाँ ब्याज आम्दानी गरेका छन्।
यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ दशमलव २ प्रतिशत अर्थात् ६ अर्ब २० करोड ९२ लाख रुपैयाँले कम हो। गत आवको पहिलो त्रैमासमा बैंकहरूले १ खर्ब १९ अर्ब ४५ करोड ७४ लाख रुपैयाँ ब्याज आम्दानी गरेका थिए।
सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा २० मध्ये १६ बैंकको ब्याज आम्दानी घटेको छ भने चार बैंकले मात्रै वृद्धि गर्न सफल भएका छन्।
प्रतिशतका आधारमा सबैभन्दा बढी गिरावट प्रभु बैंकको देखिएको छ। बैंकको ब्याज आम्दानी १८ दशमलव ८ प्रतिशतले घटेर ५ अर्ब २४ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, एनआईसी एसिया बैंकको १६ दशमलव ८१ प्रतिशतले घटेर ५ अर्ब २७ करोड १ लाख र कुमारी बैंकको १५ दशमलव ६८ प्रतिशतले घटेर ६ अर्ब १८ करोड ५९ लाख रुपैयाँ कायम भएको छ।
यसैगरी हिमालयन बैंकको १२ दशमलव १३ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ११ दशमलव ०७ प्रतिशत, सिटिजन्स बैंकको १० दशमलव ६५ प्रतिशत र प्राइम कमर्सियल बैंकको १० दशमलव ०३ प्रतिशतले ब्याज आम्दानी घटेको छ।
नेपाल एसबीआई बैंकको ७ प्रतिशत, एभरेष्ट बैंकको ६ दशमलव ६४ प्रतिशत, सानिमा बैंकको ६ दशमलव २९ प्रतिशत तथा कृषि विकास बैंकको ५ दशमलव ६ प्रतिशतले ब्याज आम्दानी घटेको वित्तीय विवरणले देखाएको छ।
यता, समग्र बैंकिङ क्षेत्रको ब्याज आम्दानी घटिरहेका बेला सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले भने उल्लेख्य सुधार गरेको छ। बैंकको ब्याज आम्दानी २६ दशमलव ९२ प्रतिशतले बढेर ९ अर्ब २ करोड ४२ लाख रुपैयाँ पुगेको छ। रकम र प्रतिशत दुवै आधारमा राष्ट्रिय वाणिज्य बैंकको वृद्धि सबैभन्दा उच्च रहेको छ।
त्यस्तै, माछापुच्छ्रे बैंकको ब्याज आम्दानी १ दशमलव ५६ प्रतिशतले बढेर ३ अर्ब ५३ करोड ९७ लाख रुपैयाँ पुगेको छ। सिद्धार्थ बैंकको ० दशमलव ५६ प्रतिशत र नेपाल बैंकको ० दशमलव २ प्रतिशतले सामान्य वृद्धि भएको छ।
कुल ब्याज आम्दानीका आधारमा ग्लोबल आईएमई बैंक पहिलो स्थानमा कायम रहेको छ। बैंकले समीक्षा अवधिमा १० अर्ब १३ करोड ५५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। दोस्रो स्थानमा रहेको नबिल बैंकले ९ अर्ब ६१ करोड १८ लाख रुपैयाँ आम्दानी गर्दा राष्ट्रिय वाणिज्य बैंक ९ अर्ब २ करोड ४२ लाख रुपैयाँसहित तेस्रो स्थानमा उक्लिएको छ।










प्रतिक्रिया दिनुहोस्