जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने अवस्था नरहेपछि उनले आज राजीनामा दिएका हुन्।
विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले राजीनामाको घोषणा गरेका हुन्। नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो। यादवले अङ्कगणितीय हिसाबले पदमा रहनुभन्दा जनताको सेवा र विश्वासलाई प्राथमिकता दिँदै राजीनामा दिएको बताएका छन्।
नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले कात्तिक २० गते राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए।
मुख्यमन्त्री यादवको राजीनामासँगै मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ। तर, अब कुन दलको नेतृत्वमा सरकार गठन हुने भन्ने विषयमा टुङ्गो लागेको छैन।
१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा नेपाली कांग्रेसका २२, नेकपा (एमाले) का २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन्।
त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य रहेका छन्।








प्रतिक्रिया दिनुहोस्