काठमाडौं । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीले सामूहिक हित, संस्थागत एकता र पारस्परिक सद्भावबाट मात्रै साझा विजय सम्भव हुने बताएका छन्।
तिहारको अवसरमा आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै कार्कीले भावनात्मक सुदृढताले नै संस्थागत सबलता कायम रहन्छ भन्ने सत्यबोध सबैमा जागृत हुन सकोस् भन्ने कामना गरेका छन्।
गत बुधबार मात्रै बालेन्द्र शाह नेतृत्वको सरकारले कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर मनोजकुमार केसीलाई नियुक्त गरेको थियो। कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ। तर, आफूलाई गैरकानुनी रूपमा आईजीपीबाट हटाइएको भन्दै कार्कीले सर्वोच्च अदालतमा रिट दिएका छन्। गत शुक्रबार दर्ता भएको उनको रिटमाथि सुनुवाइका लागि यही कात्तिक ३० गते पेसी तोकिएको छ।
‘सप्तरङ्गी दीपको दिव्य प्रकाशले सबैको जीवनमा प्रेम, शान्ति, समृद्धि, सकारात्मक ऊर्जा र सिर्जनशीलताको उज्यालो छरोस्,’ कार्कीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मनका सङ्कीर्णता, द्वेष, अहंकार तथा विकारहरू हटाई अज्ञानमाथि ज्ञान, भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय सुनिश्चित गर्ने चेतना जागृत गराओस्। सामूहिक हित, संस्थागत एकता र पारस्परिक सद्भावबाटै साझा विजय सम्भव हुन्छ तथा भावनात्मक सुदृढताले नै संस्थागत सबलता कायम रहन्छ भन्ने सत्यबोध सबैमा जागृत हुन सकोस्।’
कार्कीले महालक्ष्मीको कृपा र आध्यात्मिक चेतनाले व्यक्तिगत तथा पारिवारिक जीवनमा सुख, आत्मीयता र सद्भाव अभिवृद्धि गर्दै सामाजिक एवं संस्थागत क्षेत्रमा सामूहिक हित, एकता, व्यावसायिक निष्ठा, उत्तरदायित्व र संगठनात्मक सुदृढीकरणको भावना थप प्रगाढ बनाओस् भन्ने कामना पनि गरेका छन्।
‘सार्वजनिक संस्थाहरूको गरिमा, प्रतिष्ठा र जनविश्वास अभिवृद्धि गर्दै राष्ट्रसेवाप्रतिको समर्पण अझ सशक्त बनाओस्,’ उनले लेखेका छन्।
कार्कीले सात रङ्गले जीवन रङ्गियोस्, सात ऊर्जाले सिर्जनशीलता जगाओस् र हरेक हृदयमा मानवता, विवेक तथा सद्कर्मको ज्योति प्रज्वलित भइरहोस् भन्ने कामना पनि गरेका छन्।











प्रतिक्रिया दिनुहोस्