काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी कर तिर्ने विभिन्न क्षेत्रका १९ व्यक्ति तथा कम्पनीलाई सम्मान गरेको छ।
आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवसको अवसरमा सोमबार उनीहरूलाई सम्मान गरेको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्मानित हुने व्यक्ति तथा कम्पनीका प्रतिनिधिलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका छन्।
सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ। एकलौटी फर्मतर्फ थर्ड आई सम्मानित भएको छ। वस्तु निर्याततर्फ डाबर नेपाल र सूचना प्रविधिसम्बन्धी सेवातर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिस प्रालि सम्मानित भएका छन्।
कृषि तथा पशुपक्षीजन्य व्यवसायतर्फ ओसिबी एण्ड फुड्स फिड्स प्रालि, बैंकिङ क्षेत्रतर्फ नबिल बैंक, स्वास्थ्य तथा शैक्षिक क्षेत्रतर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल र पर्यटन व्यवसायतर्फ सोल्टी होटल सम्मानित भएका छन्। त्यस्तै, वस्तु व्यापारतर्फ सीजी इम्पेक्स प्रालिले सम्मान पाएको छ।
वार्षिक ५० करोडदेखि १०० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातातर्फ फुड एण्ड बेभरेज टेक्नोलोजी सम्मानित भएको छ। ऊर्जा उद्योगतर्फ भोटेकोशी हाइड्रोपावर र रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ आईएमई लिमिटेड सम्मानित भएका छन्। व्यक्तिगत आयतर्फ सबैभन्दा बढी कर तिर्ने राजबहादुर शाह सम्मानित भएका छन्।
त्यस्तै, आर्थिक वर्ष २०७७/७८ देखि २०८२/८३ सम्म सबैभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) तिर्ने कम्पनीमा हिमालयन डिस्टिलरी लिमिटेड सम्मानित भएको छ।
वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातातर्फ इम्पेरियल सेक्युरिटिज, विशेष उद्योगतर्फ वरुण बेभरेज, जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन, निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियर र लघुवित्त क्षेत्रतर्फ छिमेक लघुवित्त सम्मानित भएका छन्।
सोही अवसरमा मुलुकको राजस्वमा उच्च योगदान पुर्याएको भन्दै भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरलाई विशेष सम्मान गरिएको छ।












प्रतिक्रिया दिनुहोस्