images
images

काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्रीमा झर्‍यो, चिसो बढ्दै

काठमाडौं । काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ। बिहीबार बिहान उपत्यकाको न्यूनतम तापक्रम घटेर ८ डिग्री सेल्सियसमा झरेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार बिहीबार बिहान ५ः४५ बजे गरिएको प्रारम्भिक मापनमा उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रेकर्ड भएको हो। उनका अनुसार बिहान ८ः४५ बजेसम्म तापक्रम थप घट्न सक्ने सम्भावना छ।

बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियस रहेको थियो। एकै दिनमा तापक्रम २.२ डिग्रीले घटेपछि उपत्यकामा चिसो थप बढेको हो।

मौसमविद् ढकालका अनुसार बिहीबार काठमाडौं उपत्यकामा वर्षाको सम्भावना छैन। दिनभर मौसम सामान्यतया घमाइलो रहनेछ भने बीचबीचमा बादल देखिन सक्नेछ।

यसअघि बुधबार उपत्यकाका विभिन्न स्थानमा असिनासहित वर्षा भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा ३३.५ मिलिमिटर र बबरमहल क्षेत्रमा ११.२ मिलिमिटर वर्षा मापन गरिएको थियो। उपत्यकाका अन्य स्थानमा भने हल्का वर्षा भएको महाशाखाले जनाएको छ।

पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा तापक्रम घट्ने क्रम जारी छ। मौसम महाशाखाले दैनिक बिहान ८ः४५ बजे न्यूनतम र साँझ ५ः४५ बजे अधिकतम तापक्रम मापन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्