images
images

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भयो छठ पर्व

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै यस वर्षको छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। महोत्तरीसहित तराई–मधेशका विभिन्न जिल्लामा व्रतालुहरूले सूर्योदयसँगै सूर्यदेवलाई अर्घ्य दिएर चारदिने छठ पर्वको समापन गरेका हुन्।

गत शनिबारदेखि निराहार व्रत बसेका व्रतालुहरूले आइतबार साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका थिए। त्यसपछि सोमबार बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएसँगै उनीहरूको व्रत सम्पन्न भएको हो। पर्व सम्पन्न भएपछि व्रतालुहरू छठी घाटबाट घर फर्किएका छन्।

छठ पर्वको सुरुवात कात्तिक शुक्ल चौथीका दिन पवित्र स्नान गरी चोखोनीतो भोजन गर्दै व्रत सङ्कल्प गर्ने ‘नहाय–खाय’ विधिबाट हुन्छ। पञ्चमीका दिन राति एक छाक अलिनो भोजन गरी ‘खरना’ विधि सम्पन्न गरिन्छ।

षष्ठी तिथिको साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने विधिलाई मिथिलामा ‘सझियाघाट’ वा ‘सझुका अरख’ भनिन्छ। त्यसैगरी सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व सम्पन्न गर्ने विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भन्ने गरिन्छ।

पर्व सम्पन्न भएपछि व्रतालुहरूले दीनदुःखी तथा आशामुखीहरूलाई अन्न र वस्त्र दान गर्ने तथा प्रसाद ग्रहण गर्ने परम्परा छ। यससँगै छठको प्रसाद खाने र खुवाउने क्रम पनि सुरु हुन्छ।

छठ पर्वमा ठकुवा, भुसुवा, केरा, अन्य फलफूल तथा माटोका भाँडामा जमाइएको दहीलगायत परिकार सूर्यदेवलाई चढाइन्छन्। यिनै सामग्रीलाई छठको प्रसादका रूपमा ग्रहण तथा वितरण गर्ने चलन छ।

मिथिला क्षेत्रमा छठको प्रसाद खाने–खुवाउने परम्परा महिनौँसम्म चल्ने गर्दछ। विशेषगरी छोरीचेली, फुपू, मित तथा अन्य इष्टमित्रका घरमा सोलीमा राखेर छठको प्रसाद पठाउने परम्परा मैथिल समुदायमा प्रचलित छ।

प्रतिक्रिया दिनुहोस्