काठमाण्डौ । नेपालले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण, जलवायु उत्थानशील पूर्वाधार निर्माण तथा जलवायु अनुकूलनका कार्यक्रम सञ्चालन गर्न एसियाली विकास बैंक (एडीबी) सँग थप सहयोग मागेको छ ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको क्षति र पुनर्निर्माणका चुनौती समाधान गर्न एडीबीको थप साझेदारी आवश्यक रहेको बताउनुभएको छ ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का अवसरमा एडीबीका उपाध्यक्षलगायत प्रतिनिधिसँग भएको द्विपक्षीय भेटवार्तामा मन्त्री चौधरीले भोटेकोशी करिडोरको पुनर्निर्माणमा बैंकको सहयोग अपेक्षा गर्नुभएको हो ।
उहाँले भोटेकोशी बाढीका कारण बस्ती, सडक, पुल, जैविक विविधता तथा सांस्कृतिक सम्पदामा ठूलो क्षति पुगेको उल्लेख गर्दै पुनर्लाभका लागि करिब पाँच अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको जानकारी दिनुभयो ।
मन्त्री चौधरीले उक्त विपद् जलवायु परिवर्तनका कारण सिर्जित हानि तथा नोक्सानीको गम्भीर उदाहरण भएको बताउनुभयो ।
हानि तथा नोक्सानी प्रतिकार्य कोषमार्फत नेपालले प्राप्त गरेको दुई करोड अमेरिकी डलर सहयोगप्रति आभार व्यक्त गर्दै उहाँले पुनर्निर्माणका क्रममा जलवायु उत्थानशील पूर्वाधार निर्माण, सुरक्षित पुनर्वास, जीविकोपार्जनका अवसर सिर्जना तथा पूर्वसूचना प्रणालीको विकासमा एडीबीको थप साझेदारी आवश्यक रहेको धारणा राख्नुभयो ।












प्रतिक्रिया दिनुहोस्