काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले बुधबार सुनुवाइ गर्ने भएको छ।
आईजीपी पदमा पुनर्बहालीको माग गर्दै कार्कीले कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटको पेसी सोमबारका लागि तोकिएको थियो। तर सरकारले सोमबार छठ पर्वको बिदा दिएपछि सुनुवाइ दुई दिनपछि सारिएको हो।
कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो। सरकारको उक्त निर्णयविरुद्ध कार्की सर्वोच्च अदालत पुगेका हुन्।
कार्कीले रिटको अन्तिम टुंगो नलागेसम्म आफूलाई पदबाट हटाउने कात्तिक १८ गतेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेका छन्। साथै, प्रहरी महानिरीक्षक पदमा पुनर्बहाली गरी कामकाज गर्न दिन पनि माग गरेका छन्।













प्रतिक्रिया दिनुहोस्