काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०८४ का लागि विद्यालय तहका पाठ्यपुस्तक छपाइ तथा बिक्रीवितरण गर्न इच्छुक प्रकाशन गृह, फर्म तथा संस्थाहरूको सूचीकरण प्रक्रिया सुरु गरेको छ।
केन्द्रले कक्षा १, २ र ४ का पाठ्यपुस्तक छपाइ तथा वितरणका लागि नवीकरण र नयाँ सूचीकरणसम्बन्धी प्रस्ताव आह्वान गरेको हो। पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका, २०७९ अनुसार इच्छुक संस्था तथा कम्पनीहरूले तोकिएको फाराम भरी आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।
यसपटक सूचीकरण प्रक्रियामा केन्द्रले वितरण व्यवस्थालाई थप व्यवस्थित बनाउन नयाँ प्रावधानसमेत लागू गरेको छ। जसअनुसार शैक्षिक सत्र सुरु भएको १५ दिनभित्र सम्बन्धित विद्यालयहरूमा पाठ्यपुस्तक पुगे नपुगेको अनुगमन गरी अनिवार्य रूपमा प्रतिवेदन केन्द्रमा बुझाउनुपर्नेछ।
सूचीकरणका लागि फर्म वा संस्था दर्ता प्रमाणपत्र, आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता प्रमाणपत्र, गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन र कर चुक्ता प्रमाणपत्र पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, पाठ्यपुस्तक भण्डारणका लागि कम्तीमा ५ हजार वर्गफिट क्षमताको गोदाम हुनुपर्नेछ। छपाइ मेसिन, सीटीपी मेसिन, कटिङ तथा स्टिचिङ मेसिन र पर्फेक्ट बाइन्डिङ मेसिनलगायत आवश्यक उपकरणको स्वामित्व वा व्यवस्थापनसम्बन्धी कागजातसमेत अनिवार्य गरिएको छ।
केन्द्रले पाठ्यपुस्तकको गुणस्तर, कागजको ग्रामेज, रङ, आकार तथा बाइन्डिङमा तोकिएको मापदण्ड पूरा गर्नुपर्ने जनाएको छ। साथै, देशभरका ७७ वटै जिल्लामा सहज र व्यवस्थित रूपमा पाठ्यपुस्तक वितरण गर्न संघ, प्रदेश तथा जिल्ला तहसम्मको वितरण सञ्जाल र प्रतिबद्धता पेस गर्नुपर्नेछ।
तोकिएका मापदण्ड तथा सर्त पालना नगरेको, पाठ्यपुस्तक वितरणमा लापरबाही गरेको वा आवेदनका क्रममा पेस गरिएका विवरण झुटो प्रमाणित भएको अवस्थामा निर्देशिका तथा प्रचलित कानुनबमोजिम कारबाही गरिने केन्द्रले चेतावनी दिएको छ।












प्रतिक्रिया दिनुहोस्