काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सफल आयोजनाका लागि कर्णाली प्रदेशलाई शुभकामना दिएका छन्। भारतको राजकीय भ्रमणमा सहभागी हुन आइतबार दिउँसो दिल्ली प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश सार्वजनिक गरेका हुन्।
राष्ट्रिय खेलकुद परिषद्ले आइतबार दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तालिका सार्वजनिक गरेलगत्तै प्रधानमन्त्रीले कर्णालीलाई प्रतियोगिता सफल बनाउन आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहले राष्ट्रिय खेलकुद प्रतियोगितालाई घरेलु खेलकुदको सबैभन्दा ठूलो उत्सवको संज्ञा दिँदै यसपटक कर्णाली प्रदेशले आयोजना गर्ने अवसर पाएको उल्लेख गरेका छन्।
उनका अनुसार प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ भने मुख्य खेलहरू मंसिर ८ गतेदेखि सुरु हुनेछन्। प्रतियोगितामा राष्ट्रिय स्तरका ८ हजारभन्दा बढी खेलाडी, अफिसियल तथा खेल अधिकारी सहभागी हुनेछन्।
कर्णालीले पहिलोपटक ठूलो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको उल्लेख गर्दै प्रधानमन्त्रीले यसले नयाँ खेलाडीको पहिचान, प्रतिस्पर्धात्मक अवसर तथा खेल पूर्वाधार विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। खेलकुदमार्फत कर्णालीको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावना राष्ट्रिय स्तरमा उजागर हुने उनको भनाइ छ।
प्रधानमन्त्रीले प्रतियोगितालाई सफल बनाउन नागरिकस्तरबाट समेत साथ र समर्थन जुटाउन आग्रह गरेका छन्। राष्ट्रिय खेलकुद प्रतियोगिता नियमित आयोजना हुन नसकेको विषय उल्लेख गर्दै उनले अब सरकारले प्रतियोगितालाई निर्धारित उद्देश्यअनुसार नियमित सञ्चालन गर्न र यसको स्तर सुधार गर्न गम्भीरतापूर्वक काम गर्ने बताएका छन्।
दसौँ राष्ट्रिय खेलकुदले खेलकुद विकाससँगै राष्ट्रिय एकता र आपसी सद्भावलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री शाहले प्रतियोगिताको सफल आयोजनाका लागि कर्णालीलाई शुभकामना दिएका छन्।










प्रतिक्रिया दिनुहोस्