काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा महामन्त्री विपिनकुमार आचार्यले सरुवा–बढुवाका लागि आफूमाथि विभिन्न पक्षबाट दबाब आउने गरेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले आफू राजनीतिमा आएपछि सबैभन्दा बढी सामना गर्नुपरेको दबाबमध्ये सरुवा–बढुवा पनि एक रहेको बताए । सुशासन र पारदर्शिताको कुरा गर्ने आफ्नै नातेदार तथा साथीभाइसमेत सरुवा–बढुवाका लागि आफूलाई आग्रह गर्न आउने गरेको उनको भनाइ छ ।
आचार्यले सरुवा–बढुवामा आफूले विधि र पद्धतिबाहेक अन्य कुनै आधार स्वीकार नगर्ने स्पष्ट पार्दै आएका बताए । तर, आफन्त र चिनजानका व्यक्तिले समेत व्यक्तिगत आग्रह लिएर आउने गरेकाले आफू अप्ठ्यारोमा पर्ने गरेको उनले संसदमा सुनाए ।
सरुवा–बढुवामा हुने राजनीतिक तथा व्यक्तिगत दबाब अन्त्य गर्न पार्टीको वाचापत्रमा उल्लेख गरिएको स्वायत्त बोर्ड गठन गर्नुपर्ने मागसमेत आचार्यले राखे । उनले यस्तो व्यवस्था भए सरुवा–बढुवामा हुने दबाब र हस्तक्षेप कम गर्न सहयोग पुग्ने बताए ।
दसैँको प्रसंग जोड्दै उनले सरुवा–बढुवाको कामका कारण आफ्नै इष्टमित्रसमेत आफूबाट असन्तुष्ट हुन सक्ने भन्दै व्यंग्यात्मक शैलीमा संसदमा भने, ‘दसैँमा आफ्नै इष्टमित्रले टीका र आशीर्वाद नदेलान् भन्ने पिर छ । अझ काम गरेनन् भनेर श्राप पो दिने हो कि भन्ने डर छ । श्रापबाट मलाई बचाइदिनुपर्यो ।’
उनले सरुवा–बढुवालाई निश्चित विधि र मापदण्डमा आधारित बनाउन आवश्यक रहेको भन्दै यसका लागि आफूहरूले अघि सारेको स्वायत्त बोर्ड गठनको व्यवस्था कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए ।














प्रतिक्रिया दिनुहोस्