images
images

आईपीओ निर्देशिकाको मस्यौदाप्रति इप्पानको आपत्ति, जलविद्युत्लाई छुट्टै व्यवस्था गर्न माग

काठमाण्डौ ।  नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रस्ताव गरेको ‘सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदाप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले कडा आपत्ति जनाएको छ।

जलविद्युत् क्षेत्रको प्रकृति र पूँजीको आवश्यकता फरक हुने भएकाले छुट्टै परिच्छेद तथा आईपीओ चेकलिस्ट बनाएर सहजीकरण गर्न इप्पानले बोर्डसमक्ष माग गरेको छ।

मङ्गलबार सेबोनमा लिखित सुझाव दर्ता गराउँदै इप्पानले सञ्चालनमा नआएका आयोजनालाई आईपीओ रोक्ने, प्रतिशेयर नेटवर्थ अंकित मूल्य (१०० रुपैयाँ) भन्दा कम हुन नहुने र ऋण-पूँजी अनुपात बोर्डले नै तोक्ने जस्ता प्रस्तावित प्रावधान हटाउन माग गरेको छ।

निर्माणकै चरणमा ठूलो पूँजी आवश्यक पर्ने भएकाले आयोजनाको भौतिक प्रगति ६५ प्रतिशत पुगेपछि वा नेटवर्थ ९० रुपैयाँसम्म भए पनि आईपीओ निष्कासन गर्न दिनुपर्ने इप्पानको तर्क छ।

यस्तै, हजारौँ संस्थापक शेयरधनीको ‘फिट एन्ड प्रोपर’ परीक्षण गराउनुपर्ने, बोर्डलाई असीमित तजबिजी अधिकार दिने थप शर्त र वातावरणीय जोखिम मूल्यांकन जस्ता प्रावधान अव्यावहारिक रहेको इप्पानले जनाएको छ। इप्पानले आईपीओ आवेदनको प्रारम्भिक परीक्षण १५ दिन र विस्तृत मूल्यांकन ४५ दिनभित्र सक्ने गरी समयबद्ध तालिका बनाउन तथा हाल पाइपलाइनमा रहेका आयोजनालाई साविककै नियमानुसार स्वीकृति दिनसमेत आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्