images
images

देउवालाई गगनको आग्रह– माग पूरा भइसक्यो, वडा अधिवेशन उद्घाटन गर्न आउनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले राखेका माग सम्बोधन भइसकेको भन्दै अब पार्टीको वडा अधिवेशनमा सहभागी हुन आग्रह गरेका छन्।

सानेपामा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै थापाले पूर्णबहादुर खड्काले राखेका आठबुँदे र शेखर कोइराला पक्षले अघि सारेका पाँचबुँदे माग सम्बोधन भएको दाबी गरे। पार्टीलाई एकताबद्ध बनाउन आफूले सक्ने सबै प्रयास गर्ने पनि उनले बताए।

बैठकमा देउवा पक्षका केही प्रभावशाली नेताहरू पनि सहभागी भएका छन्। यसअघि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनअघि रहेको केन्द्रीय कार्यसमितिका तत्कालीन पदाधिकारी तथा सदस्यलाई वर्तमान कार्यसमितिमा समावेश गर्ने निर्णय गरेको थियो।

थापाले पूर्वसभापति देउवालाई वडा अधिवेशनको उद्घाटनमा सहभागी हुन आग्रह गर्दै भने, ‘३ र ४ गतेबाट हाम्रो वडा अधिवेशन हुँदै छ। उहाँले आएर वडा अधिवेशनको उद्घाटन गरिदिए हाम्रो लागि ठूलो सम्मानको विषय हुँदै छ।’

उनले देउवाको भूमिकाबारे पनि टिप्पणी गर्दै भने, ‘यो पार्टीको विधानले उहाँ सभापति हुने होइन, उहाँ जसरी पनि बिदा नै भएर जाने हो।’

थापाले इतर पक्षले उठाएका माग सम्बोधन भइसकेको भन्दै पूर्वपदाधिकारी तथा अन्य नेताहरूलाई पनि अधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरे। कांग्रेसले असोज ३ र ४ गते वडा अधिवेशन गर्ने कार्यतालिका अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्