काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालस्थित अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनले शिष्टाचार भेट गरेकी छन्।
प्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटमा जलवायुजन्य विपद्का जोखिम न्यूनीकरण तथा त्यसबाट हुने क्षति र प्रभाव सामना गर्न विश्वव्यापी सहकार्यलाई थप मजबुत बनाउनुपर्ने विषयमा छलफल भएको छ।
प्रधानमन्त्री शाहले नेपालको पर्यटन क्षेत्रको सम्भावनाबारे चर्चा गर्दै त्यसको विकासमार्फत नेपाल र अमेरिकाबीच पारस्परिक लाभ हासिल गर्न सकिने बताएका छन्। उनले नेपालमा अमेरिकी लगानी बढाउनसमेत कार्यवाहक राजदूत बोल्डिनमार्फत अमेरिकी पक्षलाई प्रोत्साहित गर्न आग्रह गरेका छन्।
भोटेकोशी बाढीपछि कठिन परिस्थितिमा अमेरिकाले नेपाललाई गरेको सहयोग र ऐक्यबद्धताप्रति प्रधानमन्त्री शाहले आभार व्यक्त गरेका छन्। बाढीका कारण नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएकोमा उनले दुःख व्यक्त गरेका छन्।
भेटमा कार्यवाहक राजदूत बोल्डिनले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को कठिन अवस्थामा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताएकी छन्।
उनले बाढी प्रभावित क्षेत्रमा राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि नेपाल सरकारले अघि बढाउने प्रयासमा अमेरिकी सरकार सहयोग गर्न तयार रहेको बताएकी छन्। अमेरिकाले भोटेकोशी बाढीपछि राहत, पुनःस्थापना र खोज तथा उद्धारसम्बन्धी प्रयासमा नेपाललाई निरन्तर सहयोग गरिरहेको जनाएको छ।














प्रतिक्रिया दिनुहोस्