images
images

केन्द्रीय कार्यालयको निर्णय नमान्ने देउवा पक्षको निष्कर्ष : आफ्नै ढंगले महाधिवेशन अघि बढाउने

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया आफ्नै ढंगले अघि बढाउने निर्णय गरेको छ।

सोमबार निवर्तमान सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा बसेको पक्षको बैठकले पार्टी केन्द्रीय कार्यालयको निर्णयअनुसार महाधिवेशन प्रक्रियामा सहभागी हुन नसकिने निष्कर्ष निकालेको हो।

यसअघि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई सोही हैसियतमा १५औँ महाधिवेशनमा सहभागी हुन दिने निर्णय गरेको थियो।

तर देउवा पक्षले आफूहरू कुनै पदका लागि नभई पार्टीलाई जोगाउने अभियानमा अघि बढेको भन्दै उमाकान्त चौधरीले यसअघि प्रस्तुत गरेको १५औँ महाधिवेशनको कार्यतालिकालाई अघि बढाउने निर्णय गरेको जनाएको छ।

बैठकपछि नेता डा. प्रकाशशरण महतले संस्थापन पक्षको निर्णयबारे अनौपचारिक छलफल भएको जानकारी दिए। उनले सोमबार अपराह्न ४ बजे पत्रकार सम्मेलनमार्फत औपचारिक धारणा सार्वजनिक गर्ने बताए।

कांग्रेसको कार्यसम्पादन समिति बैठकले १५औँ महाधिवेशनमा भाग लिन वा आयोजकका रूपमा सहभागी हुन चाहने १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई केन्द्रीय सदस्यकै हैसियतमा स्वागत गरी जिम्मेवारी दिने निर्णय गरेको थियो।

यसैबीच देउवा पक्षले सोमबार आकस्मिक बैठकसमेत बोलाएको छ। बैठक चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्