काठमाडौं । विपद् व्यवस्थापनमा सहजीकरण गर्न सर्वदलीय संसदीय संयन्त्र गठनका लागि सभामुखलाई आग्रह गर्ने निर्णय भएको छ।
बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले सबै राजनीतिक दलको प्रतिनिधित्व हुने गरी एक हप्ताभित्र संयन्त्र गठन गर्न सभामुखलाई आग्रह गर्ने सहमति गरेको हो।
बैठकपछि राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विपद् व्यवस्थापनका लागि आवश्यक समन्वय र सहजीकरण गर्न संयन्त्र गठनको पहल अघि बढाउने निर्णय भएको जानकारी दिए।
‘सबै राजनीतिक दलहरूको प्रतिनिधित्व हुने गरी एक हप्ताभित्र संयन्त्र गठनका लागि सभामुखलाई आग्रह गर्ने सहमति जुटेको छ,’ उनले भने।
बैठकमा विपद्का कारण लामो समयदेखि बेपत्ता रहेका व्यक्तिलाई मृत घोषणा गर्ने सम्बन्धी कानुनी व्यवस्थामा संशोधन गर्नुपर्ने विषयमा समेत छलफल भएको शाहीले बताए।
हालको कानुनअनुसार कुनै व्यक्ति बेपत्ता भएको १२ वर्षपछि मात्रै मृत घोषणा गर्न सकिने व्यवस्था छ। विपद्का कारण लामो समयदेखि बेपत्ता रहेका व्यक्तिको हकमा उक्त समयसीमा पुनरवलोकन गरी कानुनी व्यवस्था संशोधन गर्ने विषयमा बैठकमा छलफल भएको हो।













प्रतिक्रिया दिनुहोस्