काठमाडौं । जलवायु परिवर्तनका कारण हिमाल, हिमनदी, हिमताल, नदी प्रणाली र मानव बस्तीमा बढ्दै गएको जोखिम न्यूनीकरणका लागि विपद्पूर्व तयारी र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा राष्ट्रियसभामा जोड दिइएको छ।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक कमला पन्तले जलवायु परिवर्तनलाई वातावरणको मात्र विषय नबनाई अर्थतन्त्र, ऊर्जा, कृषि, पर्यटन, पूर्वाधार र स्थानीय सरकारसँग जोडेर हेर्नुपर्ने बताइन्।
हिमाल पानीको प्रमुख स्रोत भएकाले हिमनदी र हिमतालमा हुने परिवर्तनले कृषि, खानेपानी, जलविद्युत्, जैविक प्रणाली र तल्लो तटीय क्षेत्रमा प्रत्यक्ष असर पार्ने उनको भनाइ थियो।
“नेपालले विपद् आएपछि उद्धार गर्ने होइन, विपद् आउनुअघि नै तयारी गर्नुपर्छ। विज्ञहरूले दिएका सुझावलाई राज्यले कार्यान्वयन गर्नुपर्छ,” पन्तले भनिन्।
जल तथा मौसम विज्ञान विभागको क्षमता बढाएर पूर्वसूचना प्रणालीलाई स्थानीय तह हुँदै जोखिममा रहेका नागरिकको घरदैलोसम्म पुर्याउनुपर्ने उनले बताइन्। मोबाइल तथा स्मार्टफोनको पहुँच नभएका नागरिकसम्म सूचना पुर्याउन रेडियोलगायत स्थानीय सञ्चारमाध्यमको उपयोग गर्नुपर्नेमा पनि उनले जोड दिइन्।
पन्तले बाढीको सम्भावित मार्गमा रहेका विद्यालय, स्वास्थ्य संस्था र बस्तीको जोखिम नक्साङ्कन गरी जोखिमयुक्त क्षेत्रमा बस्ती तथा संरचना निर्माणसम्बन्धी स्पष्ट मापदण्ड बनाउनुपर्ने बताइन्। सडक, पुल र जलविद्युत् आयोजनाको निर्माणमा जलवायु तथा विपद् जोखिम मूल्याङ्कनलाई अनिवार्य रूपमा जोड्नुपर्ने उनको भनाइ थियो।
महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्ति विपद्का समयमा थप जोखिममा पर्ने भएकाले उनीहरूको सुरक्षालाई पूर्वतयारीको प्राथमिकतामा राख्नुपर्ने पन्तले बताइन्।
उनले गण्डकी क्षेत्रमा हिमाली जलवायु तथा हिमनदीसम्बन्धी अनुसन्धान र अनुगमन केन्द्र स्थापना गर्न पनि सरकारसँग माग गरिन्। हिमाली क्षेत्रका सबै जिल्लाको जोखिमको एकीकृत अध्ययन गरी हिमालदेखि तल्लो तटीय क्षेत्रसम्मको जोखिम नक्सा तयार गर्नुपर्ने उनको सुझाव थियो।
स्थानीय समुदायसँग रहेको भूगोल, खोलानाला, पहिरो र सुरक्षित स्थानसम्बन्धी परम्परागत ज्ञानलाई वैज्ञानिक अध्ययनसँग जोड्नुपर्ने पन्तले बताइन्। जलवायु जोखिम न्यूनीकरणसँगै स्थानीय स्रोत, ज्ञान र प्राकृतिक तथा सांस्कृतिक विविधताको संरक्षणबाट आर्थिक अवसर सिर्जना गर्न सकिने उनको भनाइ थियो।
राष्ट्रियसभाको आधिकारिक विवरणअनुसार पन्त गण्डकी प्रदेशबाट नेपाली कांग्रेसकी राष्ट्रियसभा सदस्य हुन्।














प्रतिक्रिया दिनुहोस्