images
images

नेपालले घरेलु मैदानमा बंगलादेशसँग पहिलोपटक टी–२० शृङ्खला खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले घरेलु मैदानमा बंगलादेशसँग पहिलोपटक तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने भएको छ। नेपाल र बंगलादेशबीचको शृङ्खला आगामी चैत १२, १४ र १६ गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार शृङ्खलाको पहिलो खेल चैत १२ गते, दोस्रो खेल चैत १४ गते र तेस्रो तथा अन्तिम खेल चैत १६ गते हुनेछ। यी खेल सन् २०२७ को मार्च २६, २८ र ३० मा पर्नेछन्।

क्यानका सचिव पारस खड्काले शृङ्खला हालै नेपालमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको स्मृतिमा समर्पित गरिने बताएका छन्।

खड्काका अनुसार यो शृङ्खला क्रिकेटमा मात्र सीमित नभई विपद्को कठिन समयमा नेपाल र बंगलादेशबीच ऐक्यबद्धता, करुणा र मित्रताको सन्देश दिने अवसरसमेत हुनेछ। उनले दुई देशबीच जनस्तरमा बलियो सम्बन्ध रहेको र क्रिकेटप्रतिको साझा प्रेमले सम्बन्धलाई थप नजिक बनाएको उल्लेख गरेका छन्।

नेपालसँग घरेलु मैदानमा टी–२० शृङ्खला खेल्न तयार भएकोमा खड्काले बंगलादेश क्रिकेट बोर्डप्रति आभार व्यक्त गरेका छन्। बंगलादेशले पनि शृङ्खला बाढीमा ज्यान गुमाएकाहरूको स्मृतिमा समर्पित हुने र यसले दुई देशबीच मित्रता तथा ऐक्यबद्धताको सन्देश दिने जनाएको छ।

नेपाल र बंगलादेशबीच यसअघि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा भए पनि दुई टोलीबीचको यो पहिलो द्विपक्षीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खला हुनेछ।

प्रतिक्रिया दिनुहोस्