काठमाडौं । जिम्मेवारीबाट हटाइएका नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की पुनर्बहालीको मागसहित सर्वोच्च अदालत जाने भएका छन्।
कार्की निकट एक कानुन व्यवसायीका अनुसार पदमा बहाल रहेका प्रहरी कर्मचारीलाई बिनाकारण जिम्मेवारीबाट हटाउनु प्रहरी ऐनविपरीत भएको दाबी गर्दै रिट दायर गर्न लागिएको हो।
प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ ले गरेको व्यवस्थाअनुसार सेवा अवधि, पदावधि र उमेर हदसम्बन्धी तीनवटै प्रावधानले कार्कीलाई पदबाट हटाउने अधिकार नदिएको दाबी रिट निवेदनमा गरिएको छ।
कार्की २०५४ चैत १८ गते नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए। प्रहरी नियमावलीअनुसार प्रहरी महानिरीक्षकको सेवा अवधि ३० वर्ष, उमेर हद ५८ वर्ष र पदावधि चार वर्ष तोकिएको छ।
कार्कीको जन्ममिति २०२९ साउन १५ गतेका आधारमा उनी हाल ५४ वर्षका छन्। उनी प्रहरी महानिरीक्षक नियुक्त भएको आगामी कात्तिक २७ गते एक वर्ष पुग्नेछ।
कार्कीको मुद्दामा नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्र, वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य र गोविन्द बन्दीसहितका कानुन व्यवसायीले बहस गर्ने तयारी छ।












प्रतिक्रिया दिनुहोस्