काठमाडौं । जनकपुरधामदेखि भारतको धार्मिक नगरी अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गर्ने गरी तयारी भइरहेको छ।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा सेवा उद्घाटन गर्ने लक्ष्यसहित दुवै देशका सम्बन्धित निकायले तयारी अघि बढाएका छन्।
‘प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा उक्त विशेष रेल सेवाको उद्घाटन गर्ने गरी हामी तयारीमा जुटेका छौँ,’ पराजुलीले भने, ‘यस विषयमा नेपाल र भारतका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको छ।’
उद्घाटनको मिति भने निश्चित भइसकेको छैन। प्रधानमन्त्री शाहले मंसिर ६ गतेदेखि भारत भ्रमण गर्ने तयारी छ। सोही भ्रमणका क्रममा रेल सेवा उद्घाटन गर्ने गरी छलफल भइरहेको पराजुलीले बताए।
जनकपुरधाम र अयोध्यालाई रामायण सर्किटअन्तर्गत विशेष रेल सेवामार्फत जोड्न आवश्यक पूर्वतयारी भइरहेको छ। रेल सञ्चालनका क्रममा नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु तथा रेलको सुरक्षाको जिम्मेवारी लिने विषयमा सैद्धान्तिक सहमति भएको छ।
केही दिनअघि नेपाल र भारतका रेल्वे, सुरक्षा, भन्सार तथा अध्यागमन अधिकारी सम्मिलित टोलीले विशेष निरीक्षण यानमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षण गरेको थियो।
जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालन भएपछि दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप मजबुत हुने अपेक्षा गरिएको छ। सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्या प्रत्यक्ष रेल सेवाबाट जोडिएपछि रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमन सहज हुने विश्वास गरिएको छ।
जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जीतेन्द्र महासेठले रेल सेवाले धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने बताए।
हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। प्रस्तावित विशेष सेवाले दुई देशका प्रमुख धार्मिक गन्तव्यबीचको आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।










प्रतिक्रिया दिनुहोस्