काठमाडौं । उमेर १६ वर्ष। तर, मैदानमा उनको बलिङको प्रभाव अनुभवी ब्याटरमाथि पनि उत्तिकै देखिन थालेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सका युवा बलर राहुल यादव अहिले आफ्नो प्रदर्शनका कारण चर्चामा छन्।
रौतहटको चन्द्रनिगाहपुरका राहुलले एनपीएलको डेब्यु खेलदेखि नै आफ्नो क्षमता देखाएका थिए। पहिलो खेलमा जनकपुर पराजित भए पनि राहुलले चार ओभरमा १५ रन खर्चेर दुई विकेट लिएका थिए। उनले आफ्नो पहिलो बलमै दीपक डुम्रेलाई आउट गरेका थिए। त्यसपछि पाकिस्तानका अलराउन्डर हुसेन तलातलाई पनि पवेलियन फर्काए। डुम्रे १३ र तलात तीन रनमा आउट भएका थिए।
डेब्यु खेलमा देखाएको सम्भावनालाई राहुलले दोस्रो खेलमा अझ बलियो बनाए। बिहीबार काठमाडौं गोर्खाजविरुद्ध मैदानमा उत्रिएका उनले चार विकेट लिए। उनको बलिङमा काठमाडौंका प्रमुख ब्याटर टिक्न सकेनन्।
दाहिनेहाते मिडियम पेस बलर राहुलले काठमाडौंका ओपनर स्मित पाटिललाई १३ र साम हेजलेटलाई एक रनमा आउट गरे। त्यसपछि कप्तान करण केसीलाई आठ रनमा पवेलियन पठाए। टी–२० क्रिकेटमा आक्रामक ब्याटिङका लागि चिनिने मोहम्मद आदिल आलमलाई पनि उनले सामना गर्न आएको पहिलो बलमै आउट गरे।
राहुलले चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिएपछि काठमाडौंको ब्याटिङ धराशायी बन्यो। उनीसँगै जनकपुरका अन्य बलरले पनि दबाब कायम राखेपछि काठमाडौं ११५ रनमै अलआउट भयो। यसले जनकपुरलाई प्रतियोगितामा पहिलो जित निकाल्ने आधार तयार गर्यो।
१७ वर्ष पुग्न केही महिना बाँकी रहेका राहुल नियमित अक्सनबाट छानिएका खेलाडी होइनन्। जनकपुरले प्रतिभावान् युवा खेलाडी खोज्ने क्रममा ट्यालेन्ट हन्टमार्फत उनलाई टोलीमा भित्र्याएको हो। सात खेलाडीमध्येबाट राहुललाई विशेष सम्भावना भएको खेलाडीका रूपमा छनोट गरिएको थियो।
उनको क्षमतामाथि टोलीले सुरुदेखि नै विश्वास गरेको देखिन्छ। डेब्यु खेलमा पावरप्लेभित्रै बलिङको जिम्मेवारी पाएका राहुलले दुई विकेट लिएर त्यो विश्वासलाई सही साबित गरे। दोस्रो खेलमा चार विकेट लिएपछि उनले टोलीको जितमा पनि महत्त्वपूर्ण योगदान दिए।
जनकपुरका कप्तान हर्मित सिंहले यसअघि कर्णाली याक्ससँगको खेलपछि राहुल नेपाली क्रिकेटको अर्को स्टार बन्न सक्ने क्षमता भएको बताएका थिए। राहुलको बलमा गति र विविधता रहेको उनीसँगै खेलेका खेलाडीहरूको भनाइ छ।
नेपाली क्रिकेटमा तीव्र गतिका बलरको खोजी भइरहेका बेला राहुलको प्रदर्शनले नयाँ सम्भावना देखाएको छ। राष्ट्रिय टोलीमा करण केसी र सोमपाल कामीजस्ता बलरपछि नयाँ पुस्ताबाट गति भएका बलरको उदय महत्त्वपूर्ण मानिन्छ। राहुलले यही प्रदर्शनलाई निरन्तरता दिन सके नेपाली क्रिकेटका लागि सम्भावनायुक्त बलरका रूपमा आफूलाई स्थापित गर्न सक्छन्।
चन्द्रपुर क्रिकेट एकेडेमीमा प्रशिक्षण लिएका राहुलले एनपीएलमा देखाएको सुरुआती प्रदर्शनले उनको प्रतिभाबारे चर्चा बढाएको छ। प्रतियोगिता अघि बढ्दै जाँदा उनले आफ्नो लय कायम राख्न सक्छन् कि सक्दैनन् भन्ने चासो अब थप बढेको छ।











प्रतिक्रिया दिनुहोस्