images
images

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा क्रमिक सुधार

काठमाडौं । चक्रवात ‘अर्नब’को अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको छ । माथिल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ । हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, आज राति पनि देशभर आंशिक बदली रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्