काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गत वर्षको भदौ २७ लाई नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण दिनका रूपमा स्मरण गरेका छन्। उनले २३ भदौको जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अन्योलका बीच देशलाई निकास दिन आफ्नो भागमा आएको जिम्मेवारी सकेसम्म पूरा गरेको बताएका छन्।
गुरुङले २३ भदौपछि मुलुक सामान्य राजनीतिक अवस्थामा नरहेको स्मरण गरेका छन्। तत्कालीन राजनीतिक नेतृत्वप्रतिको विश्वास कमजोर बनेको, पुरानो नेतृत्व स्वीकार्य नरहेको र नयाँ नेतृत्व कसरी चयन गर्ने भन्ने स्पष्ट बाटोसमेत नभएको उनले उल्लेख गरेका छन्।
उनका अनुसार त्यसबेला तीन दिनसम्म देश ‘अब कता जान्छ, कसले निकास दिन्छ र प्रधानमन्त्री को बन्दा सुरक्षित महसुस होला ?’ भन्ने प्रश्नमा अल्झिएको थियो। राजनीतिक अन्योलसँगै शक्ति रिक्तताको अवस्था सिर्जना भएकाले त्यसलाई लामो समय कायम राख्न नहुने उनको बुझाइ थियो।
गुरुङले त्यस्तो परिस्थितिमा आफूमा नागरिकका रूपमा देशले निकास पाउनुपर्ने र राज्य सञ्चालनमा आउनुपर्ने एउटै चिन्ता रहेको बताएका छन्। उनका अनुसार २३ भदौको असाधारण घटनाले मुलुकलाई सामान्य राजनीतिक परिस्थितिभन्दा निकै पर पुर्याइसकेको थियो।
‘कहिलेकाहीँ इतिहासले यस्तो कठिन मोडमा उभ्याउँछ, जहाँ उपलब्ध कुनै पनि विकल्प पूर्ण हुँदैन, तर देशलाई अनिश्चिततामै छोड्नु पनि हुँदैन,’ उनले भनेका छन्।
भदौ २७ गते राष्ट्रपति कार्यालय पुग्दाको अवस्थासमेत स्मरण गर्दै गुरुङले आफू रगतले लतपतिएको ज्याकेटमा रहेको र त्यतिबेलासम्म एक थोपा पानी तथा अन्नसमेत नखाएको बताएका छन्। नौ घण्टासम्मको प्रतीक्षामा अन्योलता रहे पनि देशलाई खाली हात फर्काउन नहुने अडान रहेको उनले उल्लेख गरेका छन्।
‘बाहिर सिंगो देश पर्खिरहेको थियो। त्यसैले आज देशलाई खाली हात फर्काउन हुँदैन भन्ने अडान थियो,’ गुरुङले स्मरण गरेका छन्।
अन्ततः पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने निर्णयसँगै मुलुकले राजनीतिक निकास पाएको उनले बताएका छन्। कार्की प्रधानमन्त्री बनेपछि आफूले ठूलो जिम्मेवारीको भार बिसाएजस्तो र हलुका महसुस गरेको गुरुङको भनाइ छ। भदौ २७ गते कार्की प्रधानमन्त्री नियुक्त भएको तथ्य सरकारी अभिलेखमा पनि उल्लेख छ।
गुरुङले उक्त परिस्थितिलाई आफू वा कुनै एक व्यक्तिको प्रयासको परिणामका रूपमा मात्र नभई हजारौँ युवाको आवाज, नागरिकको अपेक्षा, विभिन्न व्यक्तिको प्रयास र देशलाई निकास दिनुपर्छ भन्ने साझा चेतनाबाट बनेको अवस्थाका रूपमा व्याख्या गरेका छन्।
‘मेरो भागमा आएको जिम्मेवारी मैले सकेसम्म निभाएँ,’ उनले भनेका छन्। भदौ २७ लाई सम्झिँदा अहिले पनि कठिन परिस्थितिमा देशले आफूलाई विश्वास गरेको क्षणप्रति कृतज्ञता महसुस हुने गुरुङले बताएका छन्।















प्रतिक्रिया दिनुहोस्