काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले फरक–फरक रूपमा आएका दुई प्रतिवेदनलाई एकीकृत गर्ने प्रयास थालेको छ। त्यसका लागि कार्यदलका सदस्यहरू काभ्रेपलाञ्चोकमा आवासीय रूपमा बसेर छलफल गरिरहेका छन्।
गत फागुन २१ गतेको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको समीक्षा गर्दै संगठन सुदृढीकरण, शुद्धीकरण, रूपान्तरण र पुनर्गठनका लागि सुझाव दिन कार्यदल गठन गरिएको थियो। कार्यदलले प्रदेशगत रूपमा नेता तथा कार्यकर्ताबाट सुझाव संकलन गरी प्रतिवेदन तयार गरेको थियो।
कार्यदलका सदस्यसचिवसमेत रहेका महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदन र कार्यदल संयोजक तथा उपाध्यक्ष रामबहादुर थापाले तयार पारेको छुट्टाछुट्टै प्रतिवेदन शुक्रबारको बैठकमा प्रस्तुत भएपछि त्यसलाई एउटै दस्तावेज बनाउने प्रक्रिया अघि बढाइएको हो।
एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार दुवै प्रतिवेदन अध्ययन गरी साझा धारणा समेटेर एकीकृत प्रतिवेदन तयार गर्ने उद्देश्यले कार्यदल आवासीय छलफलमा जुटेको हो। शनिबारबाट सुरु भएको छलफल सकेर नेताहरू आइतबार काठमाडौं फर्कने तयारीमा छन्।
कार्यदलमा सर्वसम्मत प्रतिवेदन तयार गर्ने समझदारी रहेकाले दुई प्रतिवेदनमा रहेका समानता र मतभेदका विषयमा छलफल भइरहेको बताइएको छ। अन्तिम प्रतिवेदन पार्टी सचिवालयमा पेस गर्ने तयारी छ।
एमालेको सचिवालय बैठकले गत जेठ १० गते उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो। त्यसपछि जेठ २६ गते अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बसेको पहिलो बैठकले प्रदेशगत रूपमा सुझाव संकलन गर्ने कार्यतालिका तय गरेको थियो।
कार्यदलले निर्वाचन परिणाम, पार्टीभित्रको अवस्था, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक दिशाबारे प्राप्त सुझावलाई प्रतिवेदनमा समेटेको छ। दुई छुट्टाछुट्टै प्रतिवेदन आएपछि उत्पन्न मतभेदलाई छलफलमार्फत टुंग्याएर एउटै प्रतिवेदन बनाउने तयारी गरिएको हो।
भोटेकोशी बाढीपछिको अवस्थाका कारण एमालेको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक आगामी असोज ५, ६ र ७ गतेका लागि तय गरिएको छ। त्यसअघि नै कार्यदलको प्रतिवेदनलाई अन्तिम रूप दिएर पार्टी नेतृत्वसमक्ष पेस गर्ने प्रयास भइरहेको छ।














प्रतिक्रिया दिनुहोस्