images
images

प्रहरीको न्युजरुम प्रवेश उच्च तहको आदेशबिना सम्भव छैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सञ्चारगृहको न्युजरुममा प्रहरी प्रवेश गर्नु उच्च तहको राजनीतिक आदेशबिना सम्भव नहुने दाबी गरेका छन् । पत्रकार पक्राउ प्रकरणलाई लिएर सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै उनले प्रहरी आफैँले यस्तो निर्णय गर्न नसक्ने बताएका हुन् ।

आइतबार पार्टी मुख्यालय सानेपामा विशेष सम्बोधन गर्दै थापाले पत्रकारलाई पक्राउ गर्ने र चर्को आलोचनापछि छाड्ने घटनाले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको बताए ।

‘प्रहरी आफैँ मिडियाको न्युजरुममा पुग्दैन, त्यो माथिको आदेशमार्फत नै पुगेको हो,’ उनले भने, ‘केही साथीहरू एक ठाउँमा बसेर उठा भनेर निर्देशन दिएपछि पक्राउ गरियो, फेरि सर्वत्र चर्को आलोचना भएपछि छोड भनेर निर्देशन दिइयो । यो तरिका लोकतान्त्रिक हुनै सक्दैन ।’

उनले सरकार स्वेच्छाचारी र हुकुमी शैलीतर्फ अघि बढेको टिप्पणी गरे । सानो समूहले आफूलाई नै राज्य ठान्ने र आफ्नो इच्छालाई कानुनभन्दा माथि राख्ने प्रवृत्ति देखिएको उनको भनाइ थियो ।

‘यो चिन्तित बनाउने प्रवृत्ति छ । सानो समूहले ‘वि आर द स्टेट’ भन्न थालेको छ । हामीले बोलेको कुरा स्टेट हुँदैन, हुकुम हो । अड्डा अदालत हाम्रो अड्डा हो भन्ने सोच्न थाल्यो,’ थापाले भने ।

उनले सञ्चारगृहमा भएको प्रहरी हस्तक्षेपलाई सामान्य घटनाका रूपमा लिन नहुने बताए । मिडियाका गेटमा प्रहरीका गाडी तेर्स्याएर पत्रकार पक्राउ गरिएको र त्यसपछि प्रधानमन्त्रीको सचिवालयले घटनाबारे आफूहरूलाई जानकारी नभएको प्रतिक्रिया दिएको उनले स्मरण गरे ।

‘तर प्रहरी प्रधान कार्यालयले भने प्रधानमन्त्री कार्यालयको चासोका कारण नियन्त्रणमा लिइएको बताएको छ,’ उनले भने, ‘पक्राउ गरियो र पछि छोडियो भन्ने कुरा मात्र मुख्य होइन, यहाँ सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कसरी बुझेको छ, प्रेसलाई कसरी हेरेको छ र संविधानप्रति उसको धारणा के हो भन्ने बुझ्न आवश्यक छ ।’

थापाले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि बहानामा हस्तक्षेप स्वीकार्य नहुने बताए । उनले सरकारलाई आफ्ना गल्ती सच्याउन र विधिको शासनको सम्मान गर्न आग्रह गरे ।

उनले सरकारको नाम नलिई पछिल्ला गतिविधिले शक्ति स्वेच्छाचारी रूपमा प्रयोग हुन थालेको संकेत गरेको टिप्पणीसमेत गरे । आफ्नो इच्छा नै कानुन हो भन्ने सोच शासकमा विकास हुँदा समस्या सुरु हुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्