काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा आगामी तीन दिन वर्षा र हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि सोमबारसम्मको पाँचदिने मौसम पूर्वानुमान सार्वजनिक गर्दै केही स्थानमा भारीदेखि धेरै भारी वर्षा र हिमपात हुन सक्ने जनाएको छ।
महाशाखाले बिहीबार बिहान ८ बजे सार्वजनिक गरेको बुलेटिनअनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बिहीबारदेखि शनिबारसम्म कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।
बिहीबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोसी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा अन्य हिमाली क्षेत्रमा थोरै स्थानमा मध्यमसम्म वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। मधेससहित कोसी र बागमतीका पहाडी तथा तराई भूभागका थोरै स्थानमा र अन्य केही क्षेत्रमा पनि मध्यमसम्म वर्षाको सम्भावना छ।
बिहीबार राति कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा वा हिमपात हुन सक्छ। कोसी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपातको सम्भावना छ। मधेस तथा गण्डकी र लुम्बिनीका पहाडी र तराई भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
शुक्रबार र शनिबार धेरै भारी वर्षाको सम्भावना
शुक्रबार देशभर अधिकांश समय बादल लाग्नेछ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
शुक्रबार दिउँसो कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपातको सम्भावना छ। राति देशका अधिकांश स्थानमा मध्यमसम्म वर्षा वा हिमपात हुन सक्ने र कोसी, मधेस, बागमती तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ।
शनिबार दिउँसो पनि कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा वा हिमपात हुन सक्छ। यीमध्ये केही स्थानमा भारी वर्षा वा हिमपातको सम्भावना छ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
शनिबार रातिदेखि भने मौसममा क्रमिक सुधार आउने देखिएको छ। देशभर साधारणतया बदली रहने र पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ। तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्छ।
आइतबार र सोमबार मौसममा सुधार
आइतबार र सोमबार देशभर आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ। दुवै दिन हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्कादेखि सामान्य वर्षा वा हिमपात हुन सक्नेछ।
यी दुई दिन तराईका भूभाग, उपत्यका तथा खोँचमा बिहानको समयमा केही स्थानमा हुस्सु वा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना हेर्न र आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।











प्रतिक्रिया दिनुहोस्