काठमाडौं । काठमाडौं उपत्यकाभित्रका बिग्रिएका संघीय सडकबारे नागरिकले अब मोबाइल एपमार्फत गुनासो तथा सुझाव दिन सक्ने भएका छन्। सडक डिभिजन काठमाडौंले ‘सडक सुझाव’ एप औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन काठमाडौंले सफल परीक्षणपछि एप सञ्चालनमा ल्याएको जनाएको छ। एपमार्फत नागरिकले सडकमा देखिएका समस्या तथा मर्मतसम्बन्धी गुनासो दर्ता गर्न सक्नेछन्।
एपमा दर्ता गरिएको गुनासोको अवस्था र समाधान प्रक्रिया पनि नागरिकले आफैँ हेर्न सक्ने व्यवस्था गरिएको छ। गुनासो सम्बोधन भएपछि त्यसको जानकारीसमेत एपमार्फत प्राप्त हुनेछ।
हाल काठमाडौं उपत्यकाभित्र संघीय सडकअन्तर्गत रहेका करिब ४ सय ७२ किलोमिटर सडकसम्बन्धी गुनासो तथा सुझाव एपमार्फत दर्ता गर्न सकिनेछ। संघीय सडकअन्तर्गत नपर्ने सडकका हकमा भने उक्त सडक कुन निकायको जिम्मेवारीमा पर्छ भन्ने जानकारीसमेत उपलब्ध गराइने सडक डिभिजन काठमाडौंले जनाएको छ।
एपमार्फत सडकका खाल्डाखुल्डी, सडक क्षति, पानी जम्ने समस्या, ट्राफिक सुरक्षालगायत सडकसँग सम्बन्धित समस्या फोटोसहित दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। समस्या दर्ता गर्दा फोटो, समस्याको प्रकार, गम्भीरताको स्तर र नजिकको चिनारी स्थान राख्नुपर्नेछ। दर्तापछि प्राप्त हुने सन्दर्भ नम्बरमार्फत गुनासोको अवस्था हेर्न सकिनेछ।
प्राप्त गुनासोलाई समस्या, गम्भीरता र प्राथमिकताका आधारमा मूल्याङ्कन गरी आवश्यक मर्मत तथा व्यवस्थापनको प्रक्रिया अघि बढाइने सडक डिभिजनले जनाएको छ।
एपलाई क्रमशः अन्य जिल्लामा समेत विस्तार गर्ने तयारी गरिएको छ। आगामी दुई साताभित्र ललितपुर र भक्तपुरलाई प्रणालीमा जोडेर सेवा विस्तार गर्ने र त्यसपछि देशभर सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।














प्रतिक्रिया दिनुहोस्