काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच आज बिहान टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा नेपाल–मलेसिया वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री शाहले मलेसियामा नेपाली श्रमिक जाने क्रममा देखिएको सिन्डिकेट र विचौलिया प्रथाप्रति आफ्नो असन्तुष्टि व्यक्त गर्दै यस्तो प्रवृत्ति अन्त्यका लागि दुवै देशले संयुक्त पहल गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार शाहले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका अव्यावहारिक र अन्यायपूर्ण अभ्यास नेपाली श्रमिकका लागि स्वीकार्य नभएको स्पष्ट पारेका छन् ।
‘हामीलाई सिन्डिकेट र विचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन । यसले श्रमिकहरूलाई मारमा पारेको छ,’ शाहले भने, ‘त्यसैले दुवै देशका श्रममन्त्रीलाई प्रत्यक्ष वार्तामा बस्न र यो समस्या सधैँका लागि हटाउन आवश्यक कदम चाल्न आग्रह गर्दछु ।’
प्रधानमन्त्री शाहको धारणा सकारात्मक रूपमा लिँदै मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र विचौलिया प्रथाको विपक्षमा रहेको बताएका छन् । उनले यस विषयमा मलेसियाका श्रममन्त्रीलाई नेपाली समकक्षीसँग समन्वय गरी काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता जनाएका छन् ।
‘यस्तो गलत र शोषणकारी परिपाटीको म पनि पूर्णविरुद्धमा छु । म तुरुन्तै हाम्रा श्रममन्त्रीलाई यस विषयमा नेपाली समकक्षीसँग छलफल गरी ठोस निकास निकाल्न निर्देशन दिन्छु,’ इब्राहिमले भने ।













प्रतिक्रिया दिनुहोस्