काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका लागि पाँचवटा एजेण्डा तय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
बैठकका एजेण्डामा अध्यक्ष केपी शर्मा ओलीको मन्तव्य, अध्यक्षबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमा छलफल गर्ने तथा विभिन्न कमिटीमा मनोनयन गर्नेलगायत विषय रहेका छन्।
यसैगरी, सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले तयार पारेको एकीकृत प्रतिवेदन स्वीकार गरेको छ। कार्यदलको प्रतिवेदनमा केन्द्रीय कमिटी बैठकमा छलफल हुनेछ।
कार्यदलको प्रतिवेदनका आधारमा अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। बैठकमा पार्टीको निर्वाचन समीक्षा, संगठन सुदृढीकरण तथा आगामी कार्यदिशालगायत विषयमा छलफल हुने बताइएको छ।
एमालेको केन्द्रीय कमिटी बैठक सोमबार बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रम रहेको छ। यो फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक हो।













प्रतिक्रिया दिनुहोस्