काठमाडौं । अस्ट्रेलियाका स्टार ब्याटर डेभिड वार्नरले काठमाडौं गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको तेस्रो संस्करण खेल्ने भएका छन्। काठमाडौं गोर्खाजका अनुसार वार्नर दशैँपछि एनपिएल खेल्न नेपाल आउनेछन्। एनपिएलमा सहभागी हुने विदेशी खेलाडीमध्ये वार्नर अहिलेसम्मकै ठूलो नाम हुन्।
अस्ट्रेलियाले सन् २०१५ र २०२३ मा एकदिवसीय विश्वकप तथा २०२१ मा ट्वान्टी–२० विश्वकप जित्दा वार्नर टोलीका महत्वपूर्ण सदस्य थिए। सन् २०२१ को ट्वान्टी–२० विश्वकपमा उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिएका थिए।
वार्नरले अस्ट्रेलियाका लागि ११२ टेस्ट, १६१ एकदिवसीय अन्तर्राष्ट्रिय र ११० ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ शतकसहित झन्डै १९ हजार रन बनाएका छन्।
टेस्ट क्रिकेटमा वार्नरले ८ हजार ७८६ रन तथा एकदिवसीय अन्तर्राष्ट्रियमा ६ हजार ९३२ रन बनाएका छन्। उनले सन् २०१९ मा पाकिस्तानविरुद्ध एडिलेडमा अविजित ३३५ रन बनाएका थिए। यो अस्ट्रेलियाली ब्याटरको टेस्ट क्रिकेटमा दोस्रो उच्च व्यक्तिगत स्कोर हो।
३९ वर्षीय वार्नरले आफूलाई विश्व क्रिकेटका उत्कृष्ट ओपनरमध्ये एकका रूपमा स्थापित गरेका छन्। उनले विभिन्न ट्वान्टी–२० प्रतियोगितामा ४३९ खेल खेल्दै १४ हजारभन्दा बढी रन बनाएका छन्। उनको ट्वान्टी–२० क्रिकेटमा स्ट्राइक रेट १४० भन्दा माथि छ।
वार्नरले इन्डियन प्रिमियर लिग (आईपिएल) मा पनि लामो समय प्रभावशाली प्रदर्शन गरेका छन्। सन् २००९ मा दिल्ली डेयरडेभिल्सबाट आईपिएल करिअर सुरु गरेका उनले २०१४ मा सनराइजर्स हैदराबादबाट खेलेका थिए। सन् २०१५ मा हैदराबादको कप्तान बनेका वार्नरले २०१६ मा टोलीलाई आईपिएलको उपाधि जिताएका थिए।
आईपिएलमा उनले सात सिजनमा ६ हजारभन्दा बढी रन बनाएका छन्। सन् २०१५, २०१७ र २०१९ मा उनी प्रतियोगिताका सर्वाधिक रन बनाउने ब्याटर बनेका थिए। उनले सनराइजर्स हैदराबादबाट २०२१ सम्म खेलेपछि २०२२ मा पुनः दिल्ली क्यापिटल्समा फर्किएका थिए।
वार्नरले अस्ट्रेलियाबाट पछिल्लो पटक सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको ट्वान्टी–२० विश्वकप खेलेका थिए।
काठमाडौं गोर्खाजले वार्नरअघि श्रीलंकाका अलराउन्डर सहन अराचचिगे र भारतका पूर्व विकेटकिपर केएस भरतलाई टोलीमा अनुबन्ध गरिसकेको छ। वार्नरको आगमनसँगै तेस्रो संस्करणको एनपिएलप्रति अन्तर्राष्ट्रिय आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्