काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आगामी तीन दिन भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने भन्दै सुरक्षित रहन अपिल गरेका हुन् । मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ ।
प्रधानमन्त्री शाहले सम्भावित वर्षाका कारण बाढी, पहिरो, डुबान र गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । नदी तथा खोलानजिक र पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई थप सावधानी अपनाउन उनले भनेका छन् ।
उनले पानी परिरहेको समयमा तथा रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न पनि आग्रह गरेका छन् । अत्यावश्यक नभएसम्म जोखिमयुक्त सडक तथा क्षेत्रमा यात्रा नगर्न र यात्रा गर्नैपर्ने अवस्था भए मौसम तथा स्थानीय प्रशासनको सूचनालाई ध्यान दिन उनले अपिल गरेका छन् ।
सम्भावित वर्षाले सडक तथा हवाई यातायातमा समेत असर पार्न सक्ने भएकाले यात्रु तथा सम्बन्धित निकायलाई पूर्वतयारी गर्न आग्रह गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि असोज ९ देखि ११ गतेसम्म अत्यावश्यक कामबाहेक टाढा तथा रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ ।
प्रधानमन्त्री शाहले ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने तयारीमा रहेकालाई पनि मौसममा सुधार नआएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न आग्रह गरेका छन् ।
सम्भावित जोखिम न्यूनीकरणका लागि सम्बन्धित सरकारी निकायलाई आवश्यक तयारी, समन्वय र पूर्वसतर्कता अपनाउन आग्रह गर्दै शाहले मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने आधिकारिक सूचना नियमित रूपमा हेर्न नागरिकलाई अनुरोध गरेका छन् ।
मौसम पूर्वानुमानअनुसार असोज ९ देखि ११ गतेसम्मको अवधिमा विशेषगरी गण्डकी र लुम्बिनीका केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिम भएका क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने देखिएको छ ।














प्रतिक्रिया दिनुहोस्