काठमाडौं । अमेरिका र इरानबीच वार्ताको प्रक्रिया अघि बढेको संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा दुवै देशका प्रतिनिधिबीच भएको तीन घण्टा लामो वार्ता ‘धेरै राम्रो’ र ‘अत्यन्तै फलदायी’ भएको बताएपछि तेल बजारमा त्यसको प्रभाव देखिएको हो ।
बुधबारको प्रारम्भिक एसियाली कारोबारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९८.९१ अमेरिकी डलरमा झरेको थियो भने अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) ८९.९३ डलरमा कारोबार भएको थियो । पछिल्लो समय मध्यपूर्वको तनावका कारण तेलको मूल्य १०० डलरभन्दा माथि पुगे पनि अहिले त्यो तहभन्दा तल आएको हो ।
ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटका क्रममा अमेरिका र इरानी प्रतिनिधिबीच भएको वार्ता सकारात्मक रहेको बताएका थिए । उनले दुवै पक्षबीच निकट भविष्यमै अर्को बैठक हुने जानकारीसमेत दिएका छन् ।
अमेरिका–इरान वार्तासँगै साउदी अरबले आफ्नो महत्वपूर्ण ईस्ट–वेस्ट तेल पाइपलाइनको सञ्चालन पुनः सुरु गरेपछि पनि बजारमा आपूर्ति सहज हुने अपेक्षा बढेको छ । उक्त पाइपलाइनले स्ट्रेट अफ हर्मुजलाई छलेर साउदी अरबको तेललाई लाल सागरतर्फ लैजान सक्ने भएकाले यसको सञ्चालनले विश्व बजारमा आपूर्ति जोखिम कम गर्न सक्ने अपेक्षा गरिएको छ ।
तर अमेरिका र इरानबीचको तनाव पूर्ण रूपमा अन्त्य भइसकेको भने छैन । स्ट्रेट अफ हर्मुजको अवस्था, क्षेत्रीय द्वन्द्व र तेल आपूर्तिसँग सम्बन्धित अन्य जोखिमका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अझै अस्थिर रहेको छ ।














प्रतिक्रिया दिनुहोस्