काठमाडौँ । नेपाली कांग्रेसभित्र चर्किएको आधिकारिकता विवाद यतिबेला निर्वाचन आयोगको औपचारिक अध्ययनको विषय बनेको छ। १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा पक्षबीच उत्पन्न विवादबारे आयोगले कानुनी तथा प्रक्रियागत अध्ययन सुरु गरेको हो।
विवादको मूल कारण गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा पुस २७ देखि माघ १ गतेसम्म सञ्चालन भएको विशेष महाधिवेशन हो। सो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको दाबी गर्दै उक्त पक्षले निर्वाचन आयोगमा निवेदन दिएको छ। निवेदनमा विशेष महाधिवेशनका निर्णयअनुसार पार्टीको कार्यसमिति अद्यावधिक गर्न तथा आगामी निर्वाचनमा उम्मेदवारको मनोनयन पत्रमा सभापति गगन थापाको हस्ताक्षर मान्य गरिनुपर्ने माग गरिएको छ।
यता, शेरबहादुर देउवा पक्षले भने उक्त विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै निर्वाचन आयोगमा अलग्गै निवेदन दर्ता गराएको छ। देउवा पक्षले आयोगलाई बुझाएको पत्रमा काठमाडौँमा सम्पन्न भनिएको विशेष महाधिवेशन नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिक निर्णय र कार्यक्रम नभएको दाबी गरिएको छ। यसै विषयलाई लिएर आज देउवा पक्षका नेता तथा कार्यकर्ताहरू कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेका छन्।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले यस विवादसम्बन्धी अध्ययन सुरु गरिसकेको छ। महाशाखाले आवश्यक अध्ययन सकेपछि प्रतिवेदन आयोगको नियमित बैठकमा पेस गर्नेछ।
यसबीच प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता आगामी माघ ६ गतेका लागि तय भएकाले आयोगमाथि समयको दबाब बढेको छ। हालसम्म आयोगको अभिलेखअनुसार नेपाली कांग्रेसका उम्मेदवारको मनोनयन पत्रमा हस्ताक्षर गर्ने अधिकार सभापति शेरबहादुर देउवासँग सुरक्षित रहेको छ। तर, गगन थापा पक्षले उक्त अभिलेख संशोधन गरी आफ्नै हस्ताक्षर मान्य गरिनुपर्ने माग अघि सारेकाले आयोगलाई समयमै निर्णय लिनुपर्ने चुनौती देखिएको छ।










प्रतिक्रिया दिनुहोस्