images
images

मेयर बालेनको फ्रान्स भ्रमणमा अख्तियारको चासो, विवरण माग

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहलाई गत वर्षको फ्रान्स भ्रमणसम्बन्धी विवरण पेश गर्न आग्रह गरेको छ। स्रोतका अनुसार, साहको सचिवालयका दुई सदस्यलाई सो भ्रमणमा कर्मचारीका रूपमा सहभागी गराइएको विषयमा उजुरी प्राप्त भएपछि अख्तियारले मेयर साहसँग औपचारिक जानकारी मागेको हो।

साह २०८१ सालको जेठ महिनामा फ्रान्स गएका थिए। भ्रमणको उद्देश्य कान्स फिल्म फेस्टिभलमा सहभागी हुनु रहेको थियो। उक्त फेस्टिभलमा उनले रेड कार्पेट, प्रिमियर शो, तथा विभिन्न कार्यक्रमहरूमा काठमाडौं महानगरपालिकाको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए। त्यस्तै, फेस्टिभल निर्देशकसँग भेटवार्ता गर्दै अडियो–भिजुअल कन्टेन्ट निर्माण चेन (Audio-Visual Content Creation Chain) को समेत अवलोकन गरेका थिए।  फ्रान्स बसाइका क्रममा साहको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा विशेष स्वागत समारोह (रिसेप्सन) को समेत आयोजना गरिएको थियो। साह २०८१ जेठ १ गते फ्रान्स प्रस्थान गरेका थिए र ७ गते नेपाल फर्किएका थिए।

तर, सो भ्रमणमा मेयर साहसँगै उनका सचिवालयका सदस्य सुनिल लम्सालकुमार व्यञ्जनकारलाई समेत सहभागी गराइएको विषयमा विवाद सिर्जना भएको छ। उनीहरूलाई “कर्मचारी” को रूपमा सहभागी गराइएको भन्ने उजुरी अख्तियारमा परेपछि आयोगले सम्बन्धित विवरण माग गर्दै सोधपुछ गर्ने प्रक्रिया अघि बढाएको हो। यस सम्बन्धमा थप जानकारी लिन मेयर साहको सचिवालयलाई सम्पर्क गर्न खोजिए पनि प्रतिक्रिया प्राप्त हुन सकेको छैन। अख्तियारको ध्यान केन्द्रित भएको यो विषय अहिले राजधानीको स्थानीय प्रशासन र सार्वजनिक चासोको क्षेत्रमा बहसको विषय बनेको छ। यदि उजुरी प्रमाणसहित ठहरिएमा अख्तियारले औपचारिक अनुसन्धान थाल्न सक्ने सम्भावना रहन्छ। अहिलेसम्म मेयर साह वा उनका प्रतिनिधिहरूले औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस्