काठमाडौँ — मनसुन सुरु हुँदै गएका बेला डेङ्गी सङ्क्रमण बढ्न थालेको छ । असारदेखि भदौसम्मलाई डेङ्गी सङ्क्रमणको उच्च जोखिम अवधि मानिन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार यस वर्ष जनवरी १ देखि जुन ८ सम्ममा देशभर १२५५ जना डेङ्गी सङ्क्रमित भेटिएका छन् भने हालसम्म ७२ जिल्लामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ । सबैभन्दा धेरै सङ्क्रमित काठमाडौँमा देखिएका छन् । काठमाडौँमा १३२ जना, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० जना डेङ्गी सङ्क्रमित भेटिएका छन् ।
ईडीसीडीको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले भने, “डेङ्गीलाई पूर्णरूपमा शून्यमा ल्याउन र लामखुट्टे सखाप पार्न चुनौती छ । तर, उचित नियन्त्रण उपाय अपनाएर सङ्क्रमण र मृत्युदर घटाउन सकिन्छ । यसका लागि सबै जनताको सहभागिता आवश्यक छ — नागरिक, समुदाय, सरकारी र गैरसरकारी संस्था सबैले मिलेर काम गर्नुपर्छ।”
डा. दाहालका अनुसार यस वर्ष मनसुन समयभन्दा छिटो आएको र मौसमविद्हरूले धेरै वर्षा हुने अनुमान गरेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने सम्भावना उच्च छ । “हामीसँग भेक्टरको तथ्याङ्क पर्याप्त नभए पनि धेरै पानी जम्मा हुँदा लामखुट्टेको विकास हुने भएकाले सङ्क्रमण बढ्न सक्ने जोखिम छ,” उनले थपे। डेङ्गी नियन्त्रणका लागि सबै तहका निकायले आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्नुपर्ने डा. दाहालको भनाइ छ । डेङ्गी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले सर्ने रोग हो । यसबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ ।
सुरक्षा उपायहरूमा पूर्ण शरीर ढाक्ने कपडा लगाउने, खानेपानी र ढल चुहिने ठाउँ तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा छोप्ने, पानी टाँकी सफा राख्ने, झुलो प्रयोग गर्ने, र घर वरिपरि पानी जम्ने सबै ठाउँ सफा राख्ने उपायहरू समावेश छन् । डा. शेरबहादुर पुनले लामखुट्टेको नियन्त्रणका लागि समुदायमा सचेतना फैलाउनु अत्यन्त जरुरी भएको बताएका छन्। उनले भनेका छन्, “डेङ्गी नियन्त्रणको लागि व्यक्तिगत सतर्कता र सरसफाइमा सबैको भूमिका महत्वपूर्ण छ। घर–आँगन सफा राख्नुपर्छ, पानी जम्ने ठाउँहरू हटाउनुपर्छ र लामखुट्टेको प्रजनन रोक्न सबैले सक्रिय हुनु आवश्यक छ।”
उनले यो वर्ष मनसुन छिटो सुरु भएकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने जोखिम बढेको बताउँदै सबैलाई आफ्नो जिम्मेवारी पहिचान गर्न आग्रह गरेका छन्। डा. पुनका अनुसार, “सरकारी निकायसँगै समुदाय र नागरिकले पनि मिलेर लामखुट्टे नियन्त्रणमा सहकार्य गर्नुपर्छ भने मात्रै हामी यो रोगलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सक्छौं।”













प्रतिक्रिया दिनुहोस्