images
images

इजरायल–लेबनान १० दिने युद्धविराममा सहमत – ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनान १० दिने युद्धविराममा सहमत भएको बताएका छन्। यो सम्झौता नेपाली समयअनुसार शुक्रबार बिहान २:४५ बजेदेखि लागू भएको छ।

ट्रम्पले ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै आफूले लेबनानी राष्ट्रपति जोसेफ आउन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग कुरा गरेपछि यो सम्झौता भएको जानकारी दिएका छन्। उनले नेतान्याहू र आउनलाई वार्ताका लागि वासिङ्टनमा आमन्त्रित गर्ने समेत बताए। ३४ वर्षमा दुई देशबिच भएको यो पहिलो प्रत्यक्ष वार्तामा अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि उपस्थित थिए।

ट्रम्पले उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री रुबियो र संयुक्त प्रमुखका अध्यक्ष जनरल डान केनलाई दिगो शान्ति सुनिश्चित गर्न दुवै देशसँग मिलेर काम गर्न निर्देशन दिएको उल्लेख गरेका छन्। यसअघि लेबनानी राष्ट्रपतिले टेलिफोन वार्तामा ट्रम्पलाई युद्धविरामको प्रयासका लागि धन्यवाद दिएका थिए।

सम्झौता लागू भए पनि लेबनानी सेनाका अनुसार इजरायलले शुक्रबार बिहानै लेबनानमा युद्धविराम उल्लंघन गरेको छ। मध्यरातमा सम्झौता प्रभावकारी भए पनि इजरायली सेनाले दक्षिणी लेबनानका धेरै गाउँमा बेलाबेला गोलाबारी जारी राखेको छ। यस परिस्थितिमा लेबनानी सेनाले विज्ञप्ति जारी गर्दै नागरिकलाई तत्काल आफ्नो गाउँ र सहर नफर्कन आग्रह गरेको छ। यद्यपि, यी आरोपमा इजरायली सेनाबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।

इरानको विदेश मन्त्रालयले युद्धविरामको स्वागत गरेको छ। मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले लेबनानमा शत्रुता रोक्नु इरान र अमेरिकाबिच पाकिस्तानको मध्यस्थतामा भएको ठूलो सम्झौताको अंश भएको बताए।

त्यस्तै, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि यो सम्झौताको स्वागत गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो सम्झौताले द्वन्द्वको दीर्घकालीन समाधान र क्षेत्रमा व्यापक शान्ति ल्याउने दिशामा एक प्रमुख कदमको प्रतिनिधित्व गर्दछ।’ उनले सबै पक्षलाई युद्धविरामको पूर्ण सम्मान गर्न र अन्तर्राष्ट्रिय कानुनको पालना गर्न आग्रह गरे।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार हिजबुल्लाहले इजरायली सैन्य अड्डाहरूमा ठूला आक्रमण गरेको दाबी गरेको छ। उसले कार्मिएल बस्तीमा क्षेप्यास्त्र प्रहार गरेको र इजरायली मर्कावा ट्यांक ध्वस्त पारेको बताएको छ। यता इजरायलले पनि पछिल्लो २४ घण्टामा दक्षिणी लेबनानमा २०० भन्दा बढी हिजबुल्लाह लक्षित आक्रमण गरेको दाबी गरेको छ। हालसम्म लेबनानमा इजरायली आक्रमणबाट दुई हजार १६७ जनाको मृत्यु भएको छ भने सात हजारभन्दा बढी घाइते भएका छन्।

अमेरिका र इरान अप्रिल २१ मा युद्धविराम समाप्त हुनुअघि नै अर्को ठूलो सम्झौताको नजिक पुगेका छन्। पाकिस्तान, इजिप्ट र टर्कीले यसमा मध्यस्थकर्ताको भूमिका खेलिरहेका छन्। पाकिस्तानी सेना प्रमुख आसिम मुनीर अमेरिकी सन्देश बोकेर तेहरान पुगेका छन्। तेहरानपछि उनी वासिंगटन जाने बताइएको छ।

यद्यपि, इरानले होर्मुज जलमार्गमा अमेरिकी नाकाबन्दी जारी रहेसम्म समुद्री व्यापार बन्द गर्ने चेतावनी पनि दिएको छ। अहिले अधिकारीहरू सम्झौतालाई सहज बनाउन युद्धविरामको अवधि लम्ब्याउने विषयमा छलफल गरिरहेका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्