images
images

सेयर बजारमा कृत्रिम मूल्य वृद्धि, भट्ट मुख्य दोषी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गरेको अध्ययनले विवादित व्यवसायी दीपक भट्टसहित अन्य केही व्यवसायीले उधारोमा सेयर कारोबार गरेको तथ्य सार्वजनिक गरेको छ । यस विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि थप छानबिन गरिरहेको छ ।

सेबोनले दुईवटा अनुसन्धान प्रतिवेदन तयार गरेको छ । पहिलो प्रतिवेदन सुलभ अग्रवाल र उनका छोरा कृषिव अग्रवालसँग सम्बन्धित रहेको छ भने दोस्रो प्रतिवेदन दीपक भट्टसहित राजबहादुर शाह, शेखर गोल्छा, सन्दीप चाचानलगायतमाथि केन्द्रित छ ।

कार्यकारी निर्देशक रुपेश केसीको नेतृत्वमा बनेको समितिले भट्टलाई मुख्य दोषी ठहर गर्दै अन्य व्यक्तिहरूमाथि पनि कारबाही सिफारिस गरेको छ । प्रतिवेदनमा सुभी अग्रवाल, ऋषिराज मोर लगायतलाई पनि धितोपत्र कारोबारसम्बन्धी कसुरमा आरोपित गरिएको छ ।

अनुसन्धानले हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, हिमालयन क्यापिटल सर्भिसेस, हिमालय सेक्युरिटिज बैंकर र एचएलआई लार्ज क्याप फण्डजस्ता संस्थाको फण्ड दुरुपयोग गरी सेयर खरिद–बिक्री तथा मूल्यमा कृत्रिम प्रभाव पारिएको देखाएको छ । केही कम्पनीहरूको अनलाइन ट्रेडिङ प्रणाली (TMS) एउटै व्यक्तिले सञ्चालन गरेकोसमेत भेटिएको छ ।

प्रतिवेदनअनुसार दीपक भट्टले ब्रोकरसँग मिलेमतो गरेर अग्रिम भुक्तानी नगरी ३ अर्ब ८० करोडभन्दा बढीको सेयर खरिद गरेका थिए, जसमा अझै २ अर्ब ८९ करोड रुपैयाँभन्दा बढी उधारो बाँकी रहेको उल्लेख छ । यस प्रकरणमा संलग्न भृकुटी स्टक ब्रोकिङको लाइसेन्स सेबोनले निलम्बन गरिसकेको छ ।

सेबोनका अनुसार कम्पनीले ग्राहकको रकम दुरुपयोग गर्दै अन्य कारोबार मिलाउन प्रयोग गरेको, नियमअनुसार भुक्तानी प्रक्रिया नअपनाएको तथा लगानीकर्ताको ५ अर्बभन्दा बढी दायित्व बाँकी रहेको पाइएको छ । उधारोमा सेयर किनबेच गर्न दिँदा बजार मूल्यमा कृत्रिम प्रभाव पारिएको निष्कर्ष निकालिएको छ ।

अनुसन्धानले नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य योजनाबद्ध रूपमा बढाएर लगानीकर्तालाई प्रभावित पारिएको पनि देखाएको छ । विभिन्न कम्पनीको फण्ड प्रयोग गरी बजारमा माग सिर्जना गर्ने र मूल्य नियन्त्रण गर्ने काम भएको उल्लेख छ ।

त्यस्तै, सुलभ अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्ष रहँदा गैरकानुनी रूपमा सेयर बिक्री गरेको आरोपसमेत लागेको छ । नियमअनुसार अध्यक्षले आफ्नै नामको सेयर बेच्न नपाउने भए पनि घुमाउरो तरिकाबाट कारोबार गरिएको अनुसन्धानले देखाएको छ ।

प्रतिवेदनले प्रारम्भिक प्रमाणका आधारमा दीपक भट्ट, सुलभ अग्रवाल, राजबहादुर शाह, शेखर गोल्छालगायतमाथि धितोपत्र ऐनअनुसार मुद्दा दायर गरी कैद तथा जरिवानासम्मको कारबाही गर्न सिफारिस गरेको छ । साथै अर्बौँ रुपैयाँको शंकास्पद कारोबार देखिएकाले सम्पत्ति शुद्धीकरणतर्फ पनि थप अनुसन्धान आवश्यक रहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्