images
images

लगातार तेस्रो दिन बजार ओरालो,कारोबार रकम बढेर ७ अर्ब नाघ्यो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । लगातार तेस्रो दिन पनि बजार घट्दो क्रममा देखिएको हो ।

यस दिन नेप्से २.९५ अंकले घटेर २८०४.१७ विन्दुमा झरेको छ । यद्यपि सेन्सेटिभ इण्डेक्स ०.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३२ अंकले बढेका छन् भने फ्लोट इण्डेक्स स्थिर रहेको छ ।

परिसूचक घटे पनि कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ । अघिल्लो दिन ५ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार ७ अर्ब ८१ करोड ३९ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कुल ३४२ स्टकको १ लाख २१ हजार ४३३ पटकको कारोबारमा १ करोड ७५ लाख ८८ हजार कित्ता सेयर कारोबार भएको हो ।

यस दिन ३ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर डेभलपमेन्टको सेयर उच्च वृद्धि भएको हो । त्यस्तै झापा इनर्जीको सेयर १४ प्रतिशत र गणपति लघुवित्त वित्तीय संस्थाको सेयर ९ प्रतिशतले बढेको छ ।

अर्कोतर्फ होटल फरेष्ट इनको सेयर मूल्य सर्वाधिक १०.७५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ, जसको ४१ करोड ३४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै रिलायन्स स्पिनिङ्ग मिल्स र सोलु हाइड्रोपावरको पनि उच्च कारोबार भएको छ ।

१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढ्दा ८ उपसमूह घटेका छन् । बैंकिङ, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा समूहमा सामान्य वृद्धि देखिएको छ । जबकि होटल तथा पर्यटन समूह सर्वाधिक २.३६ प्रतिशतले घटेको छ भने व्यापार समूह पनि १ प्रतिशतभन्दा बढीले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्