images
images

बैशाख २१ देखि सर्वोत्तम पेन्ट्सको आईपीओ खुल्ने

काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आगामी वैशाख २१ गतेदेखि आफ्नो प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै शेयर बिक्री खुला गर्न लागेको हो।

कम्पनीले कुल जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ करोड ५० लाख रुपैयाँको ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये १० प्रतिशत अर्थात् ८५ लाख रुपैयाँ बराबरको ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका, श्रम स्वीकृति प्राप्त नेपालीहरूका लागि छुट्याइएको छ।

आईपीओ निष्काशनका लागि गरिएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस् नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले वैशाख २४ गतेसम्म आवेदन दिन पाउनेछन्। उक्त अवधिमा सबै शेयरमा आवेदन नपरेमा म्याद जेठ ४ गतेसम्म थप गरिनेछ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले पाएको छ। आवेदन दिन इच्छुकहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू, साथै ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्