काठमाडौं । अध्यागमन विभागले भिजिट भिसामा विदेश जाने नेपाली नागरिकको राहदानीमा गैरकानुनी टिप्पणी लेख्ने कर्मचारीमाथि छानबिन प्रक्रिया सुरु गरेको छ ।
हालै भिजिट भिसामा विदेश जान लागेका एक नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै ‘काम गर्न पूर्ण रूपमा अनुमति छैन’ भन्ने टिप्पणी लेखिएको भेटिएपछि विभागले यस विषयलाई गम्भीर रूपमा लिँदै अनुसन्धान अघि बढाएको हो ।
विभागले जारी गरेको प्रेस विज्ञप्तिमा प्रचलित कानुन र सरकारी नीतिविपरीत कुनै पनि नागरिकलाई अतिरिक्त सर्त राखेर प्रस्थान अनुमति दिने व्यवस्था नरहेको स्पष्ट पारेको छ । सोही कारण कानुनभन्दा बाहिर गई यस्ता टिप्पणी लेख्ने र अनावश्यक सर्त राख्ने कर्मचारीमाथि आन्तरिक छानबिन भइरहेको विभागले जनाएको छ ।
सरकारले २०८२ कार्तिक १३ गतेको निर्णयअनुसार भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका लागि प्रक्रिया सहज बनाउने नीति लागू गरेको थियो । उक्त व्यवस्थाअनुसार कम्तीमा ६ महिनासम्म वैध राहदानी, हवाई टिकट र सम्बन्धित देशको भिसा भएमा स्वघोषणासहित प्रस्थान अनुमति दिने व्यवस्था गरिएको छ । कर्मचारीले तजबिजीका आधारमा अनावश्यक कागजात माग्ने तथा यात्रुहरूलाई दुःख दिने प्रवृत्ति नियन्त्रण गर्न उक्त नीति लागू गरिएको थियो ।













प्रतिक्रिया दिनुहोस्