शनिबार जलडमरू आसपास रहेका केही जहाज, एक तेल ट्यांकरसहित, इरानी आक्रमणको निशानामा परेको खबर सार्वजनिक भएसँगै यो निर्णय आएको बताइएको छ । इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले अमेरिकी नाकाबन्दीलाई कारण देखाउँदै यस्तो कडा कदम चालिएको जनाएको छ । यसअघि भने इरानले जलमार्ग अस्थायी रूपमा खुला गरिएको घोषणा गरेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको चेतावनीलाई अस्वीकार गर्दै दबाबमा नपर्ने बताएका छन् । पछिल्ला दुई महिनादेखि जलडमरूमा अवरोध भइरहँदा विश्व ऊर्जा बजारमा अस्थिरता बढेको छ र तेलको मूल्य उच्च रहँदै आएको छ ।
आईआरजीसीको नौसैनिक शाखाले फारसको खाडी र ओमान सागर क्षेत्रमा रहेका जहाजलाई आफ्नो स्थानबाट नचल्न चेतावनी दिएको छ । केही जहाजलाई निगरानीमा पार गराइए पनि अमेरिकी नाकाबन्दी कायम रहेसम्म जलमार्ग पुनः बन्द गरिने जनाइएको छ ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिकी कदमलाई युद्धविराम उल्लंघनको रूपमा व्याख्या गर्दै नाकाबन्दी हटेसम्म जलमार्ग नखुल्ने स्पष्ट पारेको छ । उता, वार्ताको प्रक्रिया भने जारी रहेको बताइएको छ, तर ठोस सहमति अझै हुन सकेको छैन ।
यसबीच जलडमरू आसपास जहाजमाथि आक्रमणका घटनासमेत सार्वजनिक भएका छन् । बेलायती समुद्री निकायका अनुसार एक ट्यांकरमाथि गोली प्रहार भएको छ भने ओमान नजिक एक कन्टेनर जहाज अज्ञात प्रक्षेप्यास्त्रबाट क्षतिग्रस्त भएको छ । भारतले आफ्ना झण्डावाहक जहाजमाथि भएको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
विश्वको करिब २० प्रतिशत तेल तथा तरल प्राकृतिक ग्यास यही जलमार्गबाट ओसारपसार हुने भएकाले यसको अवरोधले विश्व अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ । अमेरिकाले अप्रिलदेखि लागू गरेको नाकाबन्दी र त्यसपछि बढेको सैन्य तनावका कारण जलडमरू हुँदै हुने जहाज आवागमन उल्लेखनीय रूपमा घटेको छ ।
फारसको खाडीलाई अरब सागरसँग जोड्ने यो साँघुरो समुद्री मार्गमा बढ्दो तनावले ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय व्यापार र क्षेत्रीय सुरक्षामा गम्भीर चुनौती थपिएको विश्लेषण गरिएको छ ।












प्रतिक्रिया दिनुहोस्