काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गर्दै आफूसँग सम्बन्धित सेयरलगायत विषयमा उठेका जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन् । निष्पक्ष छानबिन सुनिश्चित गर्न र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको उनको भनाइ छ ।
राजीनामा अघि उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरेका थिए । राजीनामापछि गुरुङले आफूले नैतिक जिम्मेवारी निर्वाह गरेको उल्लेख गर्दै सार्वजनिक जीवनमा पारदर्शिता र उत्तरदायित्व आवश्यक रहेको बताएका छन् ।
फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले ‘रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस देखाउनुपर्छ’ भन्दै सञ्चारकर्मी र समाजका अन्य पक्षप्रति पनि प्रश्न उठाएका छन् । आफ्नो लागि पदभन्दा नैतिकता ठूलो भएको र जनविश्वासभन्दा ठूलो शक्ति कुनै नहुने उनको भनाइ छ ।
उनले पछिल्लो समय उठिरहेको ‘जेनजी आन्दोलन’ले सुशासन, पारदर्शिता र जवाफदेहिताको सन्देश दिएको उल्लेख गर्दै नेतृत्व स्वच्छ र उत्तरदायी हुनुपर्ने बताए । साथै, सरकारमाथि उठ्ने कुनै पनि प्रश्नको उत्तर नैतिकतामार्फत दिनुपर्ने उनको धारणा छ ।
गुरुङले आफ्नो निर्णय आजकै मितिदेखि लागू हुने गरी घोषणा गरेका छन् । उनले निष्पक्ष छानबिनका लागि वातावरण बनाउन राजीनामा आवश्यक भएको बताएका छन् ।
समाजका सबै पक्षलाई सम्बोधन गर्दै उनले सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा अघि बढ्न आग्रह गरेका छन् ।












प्रतिक्रिया दिनुहोस्